फ्लोरिकल्चर एसोसिएसनद्वारा रुद्रमतीे (धोबीखोला) को सरसफाइ

फ्लोरिकल्चर एसोसिएसनद्वारा रुद्रमतीे (धोबीखोला) को सरसफाइ

केन्द्रबिन्दु
0
Shares

काठमाडौं, २२ असोज ।

फ्लोरिकल्चर एसोसिएसन नेपाल (फयान)को अगुवाइमा शनिबार काठमाडौंको रुद्रमती नदी (धोबीखोला)को सरसफाइसहित आफैंले लगाएका बोट बिरुवा गोडमेल गरिएको छ ।

आफ्नो रजत महोत्सव मनाउने क्रममा फ्लोरिकल्चर एसोसिएसन नेपालले स्थानीय रुद्रमती सरोकार समाज र वातावरण संरक्षण अभियानको सहकार्यमा रुद्रमती नदीको रातो पुल, कालो पुल र सेतो पुलमा रहेको फोहर सरसफाइ गरेको हो ।

गोडमेलका लागि धोबीखोला किनारमा लगाइएका बोट बिरुवा धमाधम काट्न थालेपछि स्थानीयहरू छक्क परेका थिए । बिरुवा गोडमेल गर्न हाँगा काटिएकोे थाहा भएपछि स्थानीयहरू नै सरसफाइ अभियानमा सहभागी भएका थिए ।

दुई वर्षअघि फ्यानले रातो पुलदेखि कालोपुलसम्म खोलाको किनारमा झन्डै एक हजार फूलका बोट लगाएको थियो । शनिबार सरसफाइ गर्ने क्रममा ती फूल विरुवाको काँटछाँट गर्नुका साथै गोलमेड गरेको सरसफाइ अभियानका संयोजक विश्वमणि पोखरेलले बताए ।

संस्थाको रजत जयन्ती महोत्सवको अवसर पार्दै सामाजिक उत्तरदायित्व बोध गरी वातावरण संरक्षण गर्न विभिन्न संघसंस्थासँग सहकार्य गर्दै आएको बताउँदै फ्लोरिकल्चर एसोसिएसन नेपालका अध्यक्ष कुमार कसजु श्रेष्ठले यस हप्ता रातो पुलका स्थानीय संघसंस्थासँग सहकार्य गर्दै बोटबिरुवाको गोडमेल र सरसफाइ गरिएको बताए ।

कार्यक्रममा काठमाडौ महानगरपालिका वडा नम्बर ३० का वडा अध्यक्ष्य दलबहादुर कार्कीले रुद्रमती खोलाको ऐतिहासिक महत्व लगायत यसमा पाइने विभिन्न जडीबुटीको स्मरण गराउँदै रुद्रमती खोलालाई पुरानै अवस्थामा फर्काउन आफू लागिपर्ने बताए ।

रुद्रमती सरसफाइमा स्थानीय टोलवासी, राजनीतिक दलका कार्यकर्ता, नेपाल सरकारका पूर्व मुख्य सचिव तथा चीनका लागि नेपाली राजदूत लीलामणि पौडेल, पूर्व डिआइजी विज्ञानराज शर्मा लगायतको उपस्थिति थियो ।

Logo