काठमाडौँ, २१, असोज
नेपाल दूरसञ्चार प्राधिकरणले अन्तर्राष्ट्रिय तथा स्थानीय टेलिफोन कलको अनुगमन गरी त्यसको यकिन तथ्याङ्क राख्ने भएको छ । पछिल्लो समय विदेशबाट नेपाल भित्रिने टेलिफोन कलबापतको आम्दानी तुलनात्मक रूपमा कम हुँदै गएपछि प्राधिकरणले अन्तर्राष्ट्रिय तथा स्थानीय कलको ‘ट्राफिक’ अनुगमन गर्ने तयारी गरेको हो । यसका लागि प्राधिकरणले सेवा प्रदायकसँग सहकार्य गरी केन्द्रीय प्रणाली स्थापना गर्ने प्रवक्ता मिनप्रसाद अर्यालले जानकारी दिए । ‘कल ट्राफिक अनुगमनका लागि आवश्यक हार्डवेयर र सफ्टवेयर प्रणाली जडान गर्न विदेशी परामर्शदातासँग आवेदन माग गरेका छौँ’ उनले भने । सञ्चालनमा रहेका ६ ओटा दूरसञ्चार सेवा प्रदायकले अन्तर्राष्ट्रिय कलबापत प्राप्त गर्ने कुल आम्दानी गतवर्ष घटेको प्राधिकरणको तथ्याङ्क छ । यस सम्बन्धमा व्यवस्थापिका संसद अन्तर्गतको विकास समितिको असोज ९ गते बसेको बैठकले चासो जनाउँदै अन्तर्राष्ट्रिय कलको अनुगमन गर्न निर्देशन पनि दिएको थियो ।
गोरखापत्रबाट































प्रतिक्रिया