इटालियन सिरी ए फुटबल अनर्तगत गएराति सम्पन्न खेलमा युभेन्टसले सहज जित निकालेको छ । पोर्चुगिज स्ट्राइकर क्रिस्टियानो रोनाल्डोको दुई गोलको मद्दतमा युभेन्टसले स्पेजियामाथि ४-१ को सहज जित निकालेको हो ।
खेलको १४औं मिनेटमा युभेन्टसले अग्रता लिएको थियो । मोरोटाले म्याककेनिएको पासमा गोल गर्दै युभेन्टसलाई १-० को अग्रता दिलाए । ३२औं मिनेटमा टोमासोले बार्टोलोमेइको पासमा गोल गर्दै पहिलो हाफमा खेल १-१ को बराबरीमा ल्याएका थिए ।
दोस्रो हाफमा मैदान प्रवेश गरेका ३ मिनेट नबित्दै रोनाल्डोले गोल गरे । ५६औं मिनेटमा पाउलो डिबालाको स्थानमा मैदान प्रवेश गरेका उनले ५९औं मिनेटमा मोरोटाको पासमा गोल गर्दै युभेन्टसलाई २-१ को अग्रता दिलाए ।
६७औं मिनेटमा चेइसाको पासमा रबिओटले गोल गर्दा खेल ३-१ को स्थितिमा आएको थियो । तर, ७६औं मिनेटमा रोनाल्डोले पेनाल्टीमा व्यक्तिगत दोस्रो गोल गर्दै युभेन्टसलाई ४-१ को फराकिलो जित दिलाएका हुन् ।































प्रतिक्रिया