पोखरा, १० असोज
ऐतिहासिक, धार्मिक एवं पुरातात्विक महत्व बोकेको कास्कीकोट स्थित गुप्तकालिका मन्दिर परिसरमा स्थानीयवासी लेखनाथ सुवेदीले छातीमा जमरा उमारेका छन् । गुप्तकालीका धार्मिक क्षेत्र विकास समितिद्वारा विश्व शान्तिको कामना गर्दै आयोजित नवदुर्गा महोत्सवका अवसरमा उनले निराहार तथा मौन व्रत बसेर छातीमा जमरा उमारेका हुन् ।
घटस्थापनाका दिन देखि छाती माथि टपरीमा उमारेको जमरा दशमीका दिन गुप्तकालिकालाई चढाइने तयारी भइरहेको समितिका अध्यक्ष दिलीप विक्रम शाहीले बताए । उनका अनुसार सप्तमीका दिन पोखराको रामघाटबाट भजन कीर्तन सहित फूलपत्रको डोली मन्दिरमा भित्र्याउनाका साथै सोही दिनमा लोपोन्मुख रहेको कुँवर जातिको सरुङ खेल प्रदर्शन गरिने परम्परा रहेको छ । सरुङ खेलमा सत्रौँ शताब्दीका ढाल, तरबार, नगरा लगायत सामग्री प्रदर्शन गरिने बताउँदै उनले भने, “गुप्तकालीका मन्दिरमा तान्त्रिक तथा वैदिक पूजा हेर्न श्रद्वालु भक्तजनको बाक्लो उपस्थिति रहँदै आएको छ ।”
रासस





























प्रतिक्रिया