एस के वैश्य । काठमाडौं, ४ असोज ।
विगत दुई वर्षको अवधिमा मात्र लागुऔषधका ३४ विदेशीसहित २३६ जनालाई नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोले पक्राउ गरेको छ । नेपालमा लागुऔषध प्रयोगकर्ताको संख्या बढ्दै जाँदा यसको ओसारपसारमा संलग्न अपराधीहरूको पनि संख्यामा वृद्धि भएको ब्युरोले जनाएको छ ।
आर्थिक वर्ष २०७२-०७३ र २०७३-०७४ सम्मको २ वर्षको अवधिमा २ सय ३३ तथा चालु आर्थिक वर्षको २ महिनामा ३ जना गरी २ सय ३६ जना लागुऔषध ओसारपसार गरिरहेको अवस्थामा पक्राउ गरिएको ब्युरोले जनाएको छ । पक्राउ गरिएका विरुद्ध लागुऔषधको मुद्दा चलाइएको ब्युरोले जनाएको छ ।
आर्थिक वर्ष २०७२-०७३ मा पक्राउ परेकामध्ये १ सय ११ पुरुष र ९ महिला छन् । त्यसै गरी आर्थिक वर्ष २०७३-०७४ मा पक्राउ परेकामध्ये १ सय २ पुरुष र ११ महिला छन् ।
२ वर्ष २ महिनाको यो अवधिमा चरेस १ सय ६१ किलो ३४० ग्राम, गाँजा ३ सय ग्राम, अफिम २, खैरो हेरोइन ३९ किलोग्राम र कोकिन ६ किलोग्राम लगायतका लागुऔषध बरामद गरिएको ब्युरोले जनाएको छ ।
गाँजा र चरेसको स्थानीय बजार मूल्य करिब एक किलोग्रामको रु २५ हजार, अफिम एक किलोको रु दुई लाख, हेरोइन र कोकिन एक किलोको रु दुई करोड पर्ने बताइन्छ ।
पक्राउ परेका ३३६ जनामध्ये ३४ लागुऔषध कारोबारी भारतलगायत तेस्रो मुलुकका रहेको ब्युरोले जनाएको छ । नेपालमा गाँजा, चरेसजस्ता पदार्थ तथा नुरफिन, फेनारगन, डाइजीपाम, बुफ्रिनोफाइनजस्ता औषधिजन्य लागुऔषधको प्रयोग बढी हुने गरेको पनि ब्युरोले जनाएको छ ।
संयुक्त राष्ट्रसंघ मातहतको एक संस्थाले गरेको एक अध्ययन अनुसार विश्वमा हाल ३० करोड लागुऔषध दुव्र्यसनी छन् । त्यसैगरी वार्षिक तीन खर्ब ३२ अर्ब डलर बराबरको लागुऔषध कारोबार हुने गर्छ । विश्वमा लागुऔषध, हतियार र मानव तस्करी सबैभन्दा बढी कारोबार हुने तीन प्रमुख क्षेत्र रहेको अध्यनले देखाएको छ ।
नेपालमा लागुऔषधका ९१ हजार ५३४ दुव्र्यसनी रहेको तथ्याङ्क सरकारले विसं २०६९ सालमा गरेको एक सर्वेक्षण अध्ययनले देखाएको छ । सर्वेक्षणको क्रममा दुव्र्यसनीमा पुरुष ८५ हजार २०४ र महिला ६ हजार ३३० गरी ९१ हजार ५३४ जना रहेको देखिएको थियो ।
‘ट्रान्जिट’ को रूपमा नेपाल
नेपालको तराई क्षेत्र खुला सिमाना भएको कारण्ले विदेशी लागुऔषध तस्करहरूले नेपाललाई तस्करीका लागि ‘ट्रान्जिट प्वाइन्ट’का रूपमा प्रयोग गर्ने गरेका छन् । पेरु, ब्राजिललगायत विकसित राष्ट्रबाट नेपालमा कोकिन र हेरोइनलगायतका महँगा लागुऔषध आउने गरेको छ ।
तर ती कोकिन र हेरोइनलगायतका महँगा लागुऔषध नेपालमा प्रयोग हुनेभन्दा पनि छिमेकी मुलुक भारत, चीन, थाइल्यान्ड, सिङ्गापुर लगायतका पूर्वी एसियाका मुलुकमा जाने गरेको लागुऔषध नियन्त्रण ब्युरोले जनाएको छ । धेरैजसो तस्करहरूले साधारण व्यक्तिलाई भरियाको रूपमा प्रयोग गर्दै ती मुलुकमा पठाउने गरेको भेटिएको छ ।































प्रतिक्रिया