ताप्लेजुङ, २, असोज
गत असारदेखि उडान ठप्प भएको सुकेटार विमानस्थलबाट आउँदो बुधबारदेखि काठमाडौँ–ताप्लेजुङ हवाई सेवा सञ्चालनमा आउने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण र ताप्लेजुङ सरोकार केन्द्रबीच काठमाडौँमा भएको छलफलपछि बुधबारदेखि हवाई सेवा सञ्चालनमा ल्याउने सहमति भएको हो ।
मौसम खराबीका कारण देखाउँदै गत असारदेखि सुकेटार विमानस्थलबाट उडान बन्द गरिएको थियो । काठमाडौँमा रहेका नेपाल पत्रकार महासंघ ताप्लेजुङ शाखाका अध्यक्ष राजेन्द्र श्रेष्ठका अनुसार नेपाल वायु सेवा निगमले साताको दुई दिन बुधबार र शुक्रबारका साथै निजी क्षेत्रका तारा, सीता र समिट एयरले साताको एक दिन हवाई सेवा सञ्चालन गर्ने सहमति भएको छ । निजी कम्पनीले यात्रु नै नपाउने गुनासो गरेपछि सरोकार केन्द्रले यात्रु सुनिश्चितताको जिम्मेवारी लिएको श्रेष्ठले जानकारी दिए। पटकपटक ताप्लेजुङमा हवाई सेवा अवरुद्ध हुँदै आएकाले निरन्तरताका लागि प्राधिकरणले अनुभवी प्राविधिक खटाउने सहमति भएको बताइएको छ । छलफलमा सरोकार केन्द्रका पदाधिकारी, प्राधिकरणका तर्फबाट उपनिर्देशक सुभाष झा, उपप्रबन्धक चुडाबहादुर खड्का, निगमका कर्मचारी प्रेमरत्न बज्राचार्यका साथै निजी हवाई सेवा कम्पनीका प्रतिनिधिको सहभागिता थियो ।कञ्चनजंघा र पाथीभरा मन्दिर प्रवेशद्वारका रुपमा रहेको ताप्लेजुङको एक मात्र सुकेटार विमानस्थलबाट लामो समयदेखि उडान नहुँदा यात्रु मर्कामा परेका थिए ।
रासस





























प्रतिक्रिया