काठमाडौँ, ३१, भदौ
स्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेलले उपभोक्तालाई औषधिको गुणस्तर र सुरक्षाका दृष्टिबाट सचेत बनाउनुपर्ने बताएका छन् । औषधि व्यवस्था विभागको समीक्षा गोष्ठीमा स्वास्थ्यमन्त्री पोखरेलले औषधि मानिसको जीवनसँग प्रत्यक्ष जोडिएको विषय भएकाले गुणस्तरमा सचेत बनाउनुपर्ने बताएका हुन् ।
उनले भने, “ग्रामीण क्षेत्रमा अझै पनि अधिकांश उपभोक्ताले औषधिको म्याद समेत हेर्न नजान्दा जोखिममा पर्ने गरेका छन्, त्यसतर्फ विभागले ध्यान दिन सक्नु पर्छ ।” मन्त्री पोखरेलले औषधि व्यवस्था विभाग केन्द्रीयस्तरबाट देशभर प्रभावकारीरुपमा काम गर्न नसक्ने भन्दै संघीय संरचना अनुसार सातवटै प्रदेशमा विभागलाई विस्तार गरेर प्रभावकारीरुपबाट अघि बढाइने समेत बताए । औषधि ऐनलाई अघि बढाउने जानकारी दिँदै उनले नेपाली औषधि उत्पादकलाई प्रोत्साहन गर्ने गरी आउने दाबी गरे । स्वास्थ्य मन्त्रालयका निमित्त सचिव डा. विनोदमान श्रेष्ठले नक्कली औषधि बजारमा आएको भन्ने समाचार आइरहेको भन्दै त्यसमा ध्यान दिनु आवश्यक रहेको बताए । रासस































प्रतिक्रिया