सोलुखुम्बु, २५ भदौ
जिल्लामा रहेका आठ स्थानीय तह मध्ये ६ वटामा बैंक नहुँदा सास्ती भएको छ । बैंक नभएका कारण कारोबारका लागि स्थानीय तहका कर्मचारी र जनप्रतिनिधिहरु सदरमुकाम धाउन बाध्य भएका छन् ।
लिखुपिके गाउँपालिकाका प्रमुख डम्बरबहादुर बस्नेत बैंकको कामकै लागि दुई दिन पैदल हिँडेर सदरमुकाम आउन बाध्य भएको बताउछन् । गाउँमा बैंक नभएका कारण गाउँपालिकाको खाता सदरमुकाममा रहेका बैंकमा खोलिएको छ । त्यसैले हरेक आर्थिक कारोबारका लागि सदरमुकाम आउनै पर्ने बाध्यता रहेको छ । अहिले सदरमुकाम रहेको दूधकुण्ड नगरपालिकामा राष्ट्रिय वाणिज्य बैंक, कृषि विकास बैंक र दुईवटा निजी समेत गरी चारवटा बैंकले सेवा दिइरहेका छन् भने खुम्बु पासाङल्हामु गाउँपालिकाको नाम्चेमा पनि राष्ट्रिय वाणिज्य बैंकको शाखा रहेको छ । ती बाहेक अन्य ६ वटा गाउँपालिकाको खाता सदरमुकामकै बैंकमा रहेको छ । बैंक नभएकै कारण कतिपय कर्मचारी तथा जनप्रतिनिधि सदरमुकाम केन्द्रित हुन थालेका छन् । सरकारले गत साउन महिनामै हरेक गाउँपालिकामा बैंकको शाखा पु¥याउने भनेको भए पनि अहिलेसम्म पु¥याउन सकेको छैन । जिल्लाको दूधकोशी, दूधकौशिका, सोताङ र नेचासल्यान गाउँपालिकामा बैंकको शाखा राख्नका लागि प्रक्रिया अघि बढेको भए पनि महाकुलुङ र लिखुपिके गाउँपालिकामा अझै कुन बैंकले शाखा लैजाने भन्नेसमेत टुंगो छैन । रासस





























प्रतिक्रिया