११ दिनदेखिको संवादहीनता तोड्दै बालुवाटार पुगे प्रचण्ड

११ दिनदेखिको संवादहीनता तोड्दै बालुवाटार पुगे प्रचण्ड

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डबीच बालुवाटारमा छलफल सुरु भएको छ । ११ दिनदेखिको संवादहीनता तोड्दै अध्यक्षद्वय ओली र दाहालबीच छलफल सुरु भएको हो ।

प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीलाई भेट्न प्रचण्ड बालुवाटार पुगेका थिए । स्थायी कमिटीका निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्रीले आलटाल गरेको भन्दै कार्यकारी अध्यक्ष प्रचण्ड बालुवाटार जान छोडेका थिए ।

अध्यक्ष प्रचण्डसँग संवादका लागि प्रधानमन्त्री तथा अध्यक्ष ओलीले आफु निकटका नेताहरुलाई खुमलटार पठाएपनि संवादको अवस्था बन्न सकेको थिएन । आज बिहान नेता माधव नेपालसँग आफ्नै निवासमा छलफल गरेपछि प्रचण्ड बालुवाटार पुगेका हुन ।

स्थायी समितिले सरकारको समिक्षासहित मन्त्रीपरिषदको पुनर्गठन र राजनीतिक नियुक्तिको मापदण्ड तयार गरेर पार्टीको सहमति अनुसार सरकार अघि बढने बताएपनि प्रधानमन्त्रीले एकलौटी ढंगले अघि बढेपछि सम्बन्ध चिसिएको थियो । दुबै अध्यक्षबीच लामो समयदेखि जारी गतिरोध आज तोडिएपनि सहमति हुने सम्भावना भने अझै न्यून नै देखिन्छ ।

कर्णाली प्रदेशका देखा परेको विवादमा दुबै अध्यक्षबाट फरक फरक निर्देशन जारी भएपछि विवाद चुलिएको हो । गत कात्तिक ४ गते साँझसम्म दुवै पक्षका सचिवालयबाट परस्परविरोधी प्रेस नोट जारी भएको थियो । प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डबीच चारबुँदे सहमति भएको दाबीसहित प्रेस सल्लाहकार सूर्य थापाले प्रेस नोट जारी गरेका थिए । तर प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले अलग्गै विज्ञप्ति जारी गर्दै सहमति नभएको दाबी गरेका थिए ।

त्यसपछि त्यसैदिन राति ओली र प्रचण्डबीच एक–अर्कामाथि आरोपित हुने गरी टेलिफोन संवाद भएको थियो  । त्यसपछि अध्यक्षद्धयबीच संवाद रोकिएको थियो ।

Logo