‘विकासप्रेमी प्रधानमन्त्री हटाउने प्रयास गलत’ : मुख्यमन्त्री गुरुङ

‘विकासप्रेमी प्रधानमन्त्री हटाउने प्रयास गलत’ : मुख्यमन्त्री गुरुङ

केन्द्रबिन्दु
0
Shares

लमजुङ ।
गण्डकी प्रदेशका मुख्यमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश इञ्चार्ज पृथ्वीसुब्बा गुरुङले विकासप्रेमी प्रधानमन्त्री केपी शर्मा ओलीलाई हटाउने प्रयास गलत भएको बताएका छन् । प्रधानमन्त्री समृद्धिको बाटोमा अघि बढेको र राष्ट्रिय हितमा निरन्तर लागि परेको उनले दावी गरे।

गृह जिल्ला आएका मुख्यमन्त्री गुरुङले नेकपा राइनाश नगर कमिटीद्वारा नगरको वडा नं ५ तीनपिप्लेमा आयोजित नगरस्तरीय अगुवा कार्यकर्ता भेलामा मुख्यमन्त्री गुरुङले भने “ओली नेतृत्वको सरकारले वर्षौं वर्षसम्मको मिचेको देशको भू–भागसहितको नयाँ नक्सा बनाउने काम, भारतले लगाएको नाकाबन्दीमा देशलाई झुक्न नदिने, समृद्ध नेपाल निर्माणमा विभिन्न विकासका काम गर्न सफल भएको छ ।

आज समाजवाद उन्मुख जनताको जनवादलाई आफ्नो निर्माणको, समृद्ध अभियानको सैद्धान्तिक, वैचारिक आधार मानेर काम गरिरहेको सरकार प्रगतिशील भएको मुख्यमन्त्री गुरुङको दावी छ । उनले भने, “तपाईँहरुको सपना पूरा गर्ने सरकार यही छ, दायाँबायाँ भएको छैन ।” मुख्यमन्त्री गुरुङले गरीब दिनदुःखीको पक्षमा रहेको सरकार गिराउनेविरुद्ध लाग्न आग्रह गरे।

नेकपाका गण्डकी प्रदेशसभाका प्रमुख सचेतक मायानाथ अधिकारी, केन्द्रीय नेता तथा संविधानसभा सदस्य टुका हमाल, डा भीष्मनाथ अधिकारी लगायतले मुलुकको विकास गर्ने ओली नेतृत्वको कम्युनिष्ट सरकार रहेकाले सबै यही समूहमा लागेर देशलाई सङ्कटमुक्त बनाउनु पर्नेमा जोड दिए ।रासस

Logo