महोत्तरी भदौ ८,
महोत्तरीको सिरसियामा एक महिलाको टाउकोको बीचको कपाल काटिएको छ। मटिहानी नगरपालिका वडा नं. २ सिरसिया टोल निवासी ५२ वर्षीया सुनितादेवी रायको टाउकोको बीचको कपाल काटिएको हो।
यस घटनालाई लिएर सिरसिया गाउँ लगायत वरिपरिका गाउँहरू समेत त्रसित भएका छन्। स्थानीयबासीहरूले डरले त्रसित भएपछि आफ्नो घरको गेटमा निम्बु, लसुन, खुर्सानी, निमको पता, सुई समेत बाँधेका छन्। पीडित रायले शुक्रबार राति १ बजेर ४५ मिनेटको समयमा घरमै सुतिरहेको बेला टाउकोको बीचको कपाल काटिएको बताइन् । उनले आत्माको रूपमा, रूप परिवर्तन गरेर कपाल काट्ने दाबी समेत गरिन्। सो घटनालाई लिएर अस्पतालमा चेकजाँच समेत गराएको र चिकित्सकले औषधि दिएको भनिन्। यति बेला भने पीडितको टाउको दुख्ने, रिंगाटा लाग्ने, डराउने, निद्रा नलाग्ने जस्ता समस्या आफूमाथि भइरहेको जानकारी गराइन्।
यता उनका श्रीमान् भरत रायले घटनाका दिन आफू सुतेको बेलामा एक्कासि श्रीमतीको डराएको आवाज सुनी ब्युँझेपछि कपाल काटेको दृश्य हेर्दा चकित समेत परेको बताए। सो घटनापश्चात विगत तीन चार दिनदेखि आफूहरू डरले सुत्न समेत नसकेको उनी बताउँछन् । जिल्ला प्रहरी कार्यालय महोत्तरीले भने कपाल काटिनेमा संलग्नहरूको कुनै पतो नलागेको बताउँदै अनुसन्धान कार्य जारी रहेको बताएको छ ।
नेपाल समाचारपत्रबाट





























प्रतिक्रिया