केन्द्रबिन्दु डेस्क । काठमाडौं, १ भदौ ।
देशको पहाडी क्षेत्रमा पहिरो र तराई मधेस क्षेत्रमा बाढीले देशवासीलाई कष्टकर जीवन जियन बाध्य तुल्याएको छ । यी प्राकृतिक प्रकोप पीडित जनता अझ भयावह स्थितिमा छन् । उनीहरूलाई सरकारी र गैरसरकारी क्षेत्रबाट राहत एवम् अन्य सहयोग उपलब्ध गराउने प्रयास जारी छ । यही सन्दर्भमा यहाँ प्रस्तुत छ, विभिन्न क्षेत्रमा भएगरिएका यस्तै केही कार्यको विवरण –
प्रधानमन्त्रीद्वारा बाढीग्रस्त क्षेत्रको अवलोकन, नगद सहयोग वितरण
प्रधानमन्त्री शेरबहादुर देउवाले बाढीका कारण मृत्यु भएका बाँके जिल्लाका राप्ती–सोनारी गाउँपालिका–४ लालपुरका तीनजना बालिकाका परिवारलाई आज नगद सहयोग वितरण गरेका छन् ।
जिल्लाको सो गाउँपालिकाको कमैया डाँडामा आज आयोजित कार्यक्रममा प्रधानमन्त्री देउवाले मृतक तीनजना बालिकाका बुबा कमिलाल थारुलाई रु छ लाखको चेक हस्तान्तरण गरे । सरकारले बाढीपहिरोमा मृत्यु भएका प्रत्येक परिवारका सदस्यलाई रु दुई लाख दिने निर्णय गरेको छ ।
गत साउन २८ गते राति राप्ती नदीमा आएको बाढीका कारण सो गाउँपालिका–४ लालपुरका एकै परिवारका १२ वर्षीया अञ्जु थारु, नौ वर्षीया सरिता थारु र सात वर्षीया सुस्मिता थारु दिदीबहिनीको मृत्यु भएको थियो ।
सोही कार्यक्रममा प्रधानमन्त्री देउवाले त्यहाँ उपस्थित त्यस क्षेत्रका बाढीपीडित परिवारका सदस्यलाई तयारी खाद्यान्न चिउरा, चाउचाउ, दालमोठ, नून, खाने तेल, पिउने पानी र त्रिपाल प्रदान गरेका थिए ।
त्यस अवसरमा उनले बाढीपीडितलाई सम्बोधन गर्दै यस क्षेत्रमा पुनः बाढी आउन नदिने उपायको खोजी सरकारले गर्ने आश्वासन दिनुभयो ।
प्रधानमन्त्री देउवाले मुलुकका बाढीपीडितको उचित बसोबास, जीविकोपार्जनका लागि सरकारका तर्पmबाट कुनै कसर बाँकी नराखिने बताउँदै दैवी विपत्तिका बेला सबैले आ–आफ्नो तहबाट सहयोग गर्नु पर्नेमा जोड दिए ।
यसअघि नेपालगञ्ज राझास्थित नेपाली सेनाको चार नं बाहिनी अड्डामा प्रधानमन्त्री देउवालाई मध्यपश्चिमाञ्चल क्षेत्रीय प्रशासक महेन्द्रप्रसाद गुरागार्इं र नेपाली सेनाका पृतनापति कर्मेन्द्र लिम्बूले बाँके, बर्दिया, दाङ र सुर्खेतका बाढीपीडितको हालको अवस्थाका बारेमा जानकारी गराएका थिए ।
यसैगरी, प्रधानमन्त्री देउवाले बाँके जिल्लाका बाढी प्रभावित क्षेत्रको हवाई र स्थलगत अवलोकन पनि गरे । बाँके जिल्लाको कार्यक्रम सकेर उनी बर्दिया र कैलाली जिल्लातर्फ प्रस्थान गरेका छन् ।
प्रधानमन्त्री देउवाले बर्दियाको भादापुलस्थित गोलपार्क र कैलाली जिल्लाको टीकापुर भजनीमा त्यस क्षेत्रका बाढीपीडितसँग भेटघाट गर्ने र राहत उपलब्ध गराउने कार्यक्रम रहेको बाँकेका प्रजिअ रमेशकुमार केसीले जानकारी गराएका छन् ।
बाढी प्रभावित क्षेत्रमा निःशुल्क घुम्ती स्वास्थ्य शिविर
जिल्लाको बाढी प्रभावित क्षेत्रमा जिल्ला जनस्वास्थ्य कार्यालयले निःशुल्क घुम्ती स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।
सिरहाको अति प्रभावित क्षेत्रमा कार्यालयबाट खटिएको टोलीले बाढीबाट सबैभन्दा बढी प्रभावित सिरहाको कल्याणपुर नगरपालिका–३ स्थित इटारी प्रसाहीका बाढीपीडितलाई लक्षित गरी तीनदिने निःशुल्क घुम्ती स्वास्थ्य शिविर सञ्चालन गरेको कार्यालयका प्रमुख डा चुमनलाल दासले जानकारी दिए ।
बाढी प्रभावित स्थानमा रोगको संक्रमण फैलिन नदिन र बाढीपीडितलाई स्वास्थ्य सेवा पु¥याउने उद्देश्यले इटारी प्रसाहीस्थित निमावि परिसरमा साउन २९ देखि ३२ गतेसम्म सञ्चालन गरेको स्वास्थ्य शिविरमा बाढीबाट विस्थापित भई स्थानीय विद्यालयमा शरण लिएर बस्दै आएका २४८ जनाको निःशुल्क स्वास्थ्य जाँच गराएको उनले बताए ।
सो क्रममा काठमाडौँ विश्वविद्यालयको धुलिखेल अस्पतालले स्वास्थ्य शिविरसँगै विभिन्न लत्ताकपडा, भाँडाकुडालगायतका सामग्री बाढीपीडितलाई वितरण गर्न कल्याणपुर नगरपालिका कार्यालयको जिम्मा लगाएको जनाएको छ ।
यसैगरी बाढी प्रभावित जिल्लाको कर्जन्हा गाउँपालिका–२ मा स्वास्थ्यकर्मीको टोली परिचालन गरी २९ जना बाढीपीडितको स्वास्थ्य जाँच गरेको छ भने लहान नगरपालिका–१ मुसहरबस्ती, कर्जन्हा गाउँपालिकाको गौतारी, औरही र मिर्चैया नगरपालिकाका बाढी प्रभावित स्थानमा समेत स्वास्थ्यकर्मीको टोली परिचालन गरिएको प्रमुख डा दासले जानकारी दिए ।
शिविरमा दूषित पानी तथा खाना तथा प्रदुषणका कारण हुने कमलपित्त (जण्डिस), झाडापखाला, ज्वरो, रुघा, खोकी, बान्ता आउने, रिंगटा लाग्नेजस्ता रोगको परीक्षण र निःशुल्क औषधि समेतको प्रबन्ध मिलाइएको उनको भनाइ छ ।
यसैबीच बाढीका कारण खानेपानी दूषित भएकाले पानी शुद्धीकरणका लागि खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयलगायत खानेपानीका क्षेत्रमा कार्यरत सङ्घघसंस्थाले इटारी प्रसाहीका बाढीबाट पीडित ७६ परिवारलाई हाइजिंब किट, पियुस र बाल्टिन वितरण गरेको छ ।
बाढीका कारण प्रदूषण फैलिएको र खानेपानीको मुहानसमेत दूषित भएकाले पानी निर्मलीकरण गर्न बाढीपीडित परिवारलाई ती सामान वितरण गरेको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका प्रमुख राजेश कुशवाहाले जानकारी दिए ।
बाँधको कटान रोक्न २४ घण्टे अष्टजाम
कमला नदीको बाढीले बस्ती नजिकै कटान गर्न थालेपछि सिरहा नगरपालिका–६ बसबिट्टाका बासिन्दाले बुधबार साँझबाट बाँधमै २४ घण्टे धार्मिक अनुष्ठान (अष्टजाम) गरेका छन् ।
माताको रुपमा रहेकी कमला नदी रिसाएर बस्ती नजिकैको तटबन्ध बाढीले कटान गर्न थालेकोले नदीलाई खुशी पार्न भन्दै स्थानीय गाउँलेले कटान भइरहेकै स्थानमा २४ घण्टे अष्टजाम शुरु गरेका हुन् ।
गाउँलेबाट चन्दा उठाएर अष्टजाम शुरु गरेका छौँ, स्थानीयवासी तथा राजनीतिकर्मी रामसुगारत पासवानले भने, “२४ घण्टे अष्टजामपश्चात् बाँध कटान रोकिने र बाढीबाट बस्ती जोगिने विश्वासका साथ हामीले अष्टजाम शुरु गरेका हौँ ।”
केही वर्षअघि पनि बाढीले कटान गरेकाले हामीले अष्टजाम गरेपछि आफैँ कटान राकिएको थियो, त्यसैकारण यसपालि पनि कटान रोक्न अष्टजाम गरेको उनको भनाइ थियो ।
कमला नदीले केही दिनयता धार परिवर्तन गरेर बस्तीतर्फ बाढी आउन थालकाले बसबिट्टाका बासिन्दा त्रस्त भएका छन् ।
कमला नदीको तटबन्धसँगै टाँसिएको बसबिट्टामा यादव, पासवानलगायत विभिन्न जातजातिको बसोबास छ । उक्त स्थानमा कमला नदीको तटबन्ध भत्किए सदरमुकाम सिरहासहित एक दर्जन गाउँका बासिन्दा विस्थापित हुने भएकाले सम्भावित दुर्घटनाबाट जोगाउन अष्टजाम गरिएको र तटबन्ध संरक्षणका लागि प्रमुख जिल्ला अधिकारीलगायत सम्बन्धित निकायलाई समेत गुहारेको थानीयवासीले बताएका छन् ।
हामीले बस्तीतर्फको तटबन्ध नजिकैबाट बगिरहेको बाढीको धारलाई चाइनेलाइज गरी धार परिवर्तन गर्न प्रजिअ श्रेष्ठलाई आग्रह गर्यौं, तर उहाँले यो कुरा कूटनीतिक माध्यमबाट मात्र समाधान हुने भएकाले भारतीय पक्षको स्वीकृतिबिना गर्न नसकिने जवाफ दिएको स्थानीयवासी प्रितम यादवको गुनासो छ ।
यसैबीच कमला नदीको बाढीले कटान गर्न लागेको स्थानमा नेपाली सेना, नेपाल प्रहरी र जनकपुरस्थित जल उत्पन्न प्रकोप नियन्त्रण कार्यालयको टोली खटिएको छ । कटान भइरहेको स्थानमा तटबन्ध जोगाउन बोरामा बालुवा हालेर तारजाली लगाउने कार्य भइरहेको सिरहाका प्रजिअ श्रीकृष्ण श्रेष्ठले जानकारी दिए ।
अहिले बोरामा बालुवा हालेर प्लास्टिकको तारजालीले स्पर निर्माण गरी तटबन्ध कटान गर्नबाट बचाउने प्रयास भइरहेको र तत्कालका लागि कुनै खतरा नरहेको प्रजिअ श्रेष्ठले बताए । (राससको सहयोगमा)































प्रतिक्रिया