उत्तरगया धाममा तटबन्ध निर्माण

उत्तरगया धाममा तटबन्ध निर्माण

केन्द्रबिन्दु
0
Shares

उत्तरगया धामको संरक्षणका लागी नदी नियन्त्रण गरिएको छ । त्रिशूली र फलाखु खोलाको संगमस्थल बेत्रवाती संरक्षण गरी दिवंगतको दाहसंस्कार एवं प्रत्येक वर्ष पितृका सम्झनामा गरिने पिण्डतर्पणका कार्य सहज पार्ने उद्देश्यले प्रदेश सरकारको सहयोगमा नदी किनारमा तटबन्ध गरिएको हो ।

वाग्मती प्रदेश सरकारको रू छ करोड सहयोगअन्तर्गत तटबन्ध तथा अन्य पूूर्वाधारका काम अगाडि बढाइएको उत्तरगया गाउँपालिका अध्यक्ष उपेन्द्र लम्सालले बताए । फलाखुको पुरानो झोलुङ्गे पुलमुनिदेखि पश्चिमको दुई नदी मिश्रण भएको स्थान हुँदै त्रिशूलीको शवदाहगृह आसपाससम्म करीब दुई सय मिटर भूभागको नदी किनारमा तारको जाली तथा सिमेन्टको पर्खाल लगाई नदी नियन्त्रण गरिएको बताइएको छ ।

नदी नियन्त्रणका साथै शौचालय तथा विश्रामगृह, स्नानपछि लुगा फेर्नका लागि चार कोठा समेतका पूर्वाधार तयार भइसकेको बताउँदै गापा अध्यक्ष लम्सालले समग्रको काम ९० प्रतिशत पूरा भएको बताए ।

उत्तरगया धाम संरक्षणका लागि रू १० करोड लाग्ने विस्तृत परियोजना प्रतिवेदन तयार भएको छ । दोस्रो चरणअन्तर्गत निलाद्री पर्वत जानेक्रममा फलाखुको संगमस्थलमा शंकरले बेतको लौरीबाट उत्पन्न गराउनुभएको जल उत्खनन गरी बाहिर निकाल्ने योजना रहेकोे गाउँपालिकाले जनाएको छ ।

विसं २०१८ मा फलाखु खोलामा बाढी आउँदा पुरिएको तातो पानी २०४९ मा योगी नरहरिनाथले नेपाली सेनामार्फत उत्खनन गराएको बेत्रावतीका समाजसेवी वयोवृद्व मोहनबहादुर थापा बताउँछन् ।

यसै गरी तप्त कुण्ड, शिव मूर्ति तथा बौद्ध स्तूप, पौषेऔँसीमा गरिने पिण्ड तर्पणका लागि श्राद्ध उद्यान, मरणपाटी र अन्य धार्मिक आस्था बढाउने खालका संरचना बनाउने कार्य योजना रहेको जनाइएको छ । रसुवा र नुवाकोटको सिमानामा अवस्थित उक्त धाममा दाहसंस्कार, पिण्डतर्पण, हरिबोधिनी एकादशीमा फूलको डोली तार्ने जस्ता कार्य हुँदै आएको छ ।

Logo