स्कुल छाड्दै भागी विवाह गर्दै

स्कुल छाड्दै भागी विवाह गर्दै

केन्द्रबिन्दु
0
Shares

पाल्पा, ३१ जेठ । जनचेतनाको अभावमा यहाँका बालिका १५÷१६ वर्षको उमेरमा पहिले बच्चा जन्माउँछन्, २० वर्षको उमेरमा दुई छोराछोरीका आमा बन्छन्, स्कुल पढ्ने समय बालबच्चाको हेरचाहमा बित्छ भन्दा अब अनौठो मान्नुपर्ने अवस्था छैन ।

पाल्पा रैनादेवी छहरा गाउँपालिका–६, ७, र ८ बल्ढेङगढी, जुठापौवा र सत्यवती क्षेत्रमा जनचेतनाको कमीले कम उमेरमा भागेर विवाह गर्ने र कमै उमेरमा सुत्केरी हुने गलत परम्परा अझै रोकिएको छैन ।

बल्ढेङगढी, जुठापौवा र सत्यवती क्षेत्रका बालबालिका स्कुल पढ्ने, मेलापात, गोठालो जाँदाखेरी मायाप्रेम गाँस्ने र त्यसपछि भागेर विवाह गर्ने चलन बढी छ । विवाहपछि अधिकांश ७÷८ कक्षामा नै विद्यालय छाड्ने गर्दछन् । छोरा मान्छे विदेश पैसा कमाउन जानुपर्ने र छोरी मान्छे बालबच्चा हुर्काउन व्यस्त हुनुपर्ने बाध्यता छ ।

पाल्पा जिल्लाको पश्चिम भेगमा रहेका यी गाउँ शिक्षा, सञ्चार, यातायात, स्वास्थ्य र रोजगारका अवसरबाट पछि परेका छन् ।

स्वास्थ्य स्यवम्सेविका लालकुमारी गाहाका अनुसार, १५÷१६ वर्षको उमेरमा विवाह हुन्छ । पर्याप्त सचेतनाको अभावमा बालबालिकाको बालविवाह रोकिएको छैन, परिवार नियोजनको महत्वका बारेमा सचेत बन्न नसक्दा मातृशिशु दुबै नै जोखिममा पर्ने खतरा बढेको छ ।

स्थानीय बासिन्दा सावित्रा सारुलाई १५ वर्षको उमेरमा विवाह भएको सम्झना छ । उनले विवाह गरेको दुई वर्षपछि छोरा पाएको हो । यस क्षेत्रमा २० वर्षभन्दा पहिला नै बच्चा जन्माउने झन्डै ७० प्रतिशतभन्दा बढी रहेको बल्ढेङगढी स्वास्थ्य चौकीको दाबी छ ।

बल्ढेङगढी स्वास्थ्य चौकीमा कार्यरत अनमी बिमला पौडेलका अनुसार, कम उमेरमा विवाह गरेमा किशोरीले गर्भ रहेको ५ महिनापछि मात्र स्वास्थ्य परीक्षण गर्न आउने तर सुत्केरी घरमा गराउने चलन ती भेगमा बढी छ । गर्भ रहेको छ वा छैन भन्ने समेत उनीहरूलाई थाहा नहुने गरेको स्वास्थ्यकर्मी बताउँछन् ।

“नियमित रूपमा स्वास्थ्य परीक्षण नगराउने, घरमा सुत्केरी गराउन नसकेपछि वा अप्ठ्यारो परिस्थिति सिर्जना भएपछि मात्र स्वास्थ्य चौकीमा आउने गर्दछन्”, पौडेलले भनिन्, “अप्ठ्यारो परिस्थितिमा आफूहरूले पनि जिल्ला अस्पताल पठाउने बाहेक केही विकल्प नहुने स्थिति छ ।”

स्वास्थ्य चौकीमा २०७२ साल असोजदेखि प्रसूति सेवा सञ्चालनमा ल्याइएको भए पनि स्वास्थ्य सेवा लिन आउनेको संख्या अझै कमी रहेको छ । रैनादेवी छहरा गाउँपालिका–६ मा ३ हजार ४ सय ४०, वडा नं ७ मा २ हजार ४३ र नं ८ मा तीनहजार १६५ जनसंख्या छ । –कृष्ण दर्नाल/रासस

Skip This
Skip This
Logo