
केन्द्रबिन्दु डेस्क । काठमाडौं, २४ जेठ ।
सशस्त्र प्रहरी बलको एपिएफ क्लब र न्यू डायमण्ड एकेडेमी केएनपी राष्ट्रिय महिला भलिबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् । त्रिपुरेश्वरस्थीत दशरथ रंगशालाको कभर्ड हलमा बुधबार भएका दुवै खेलमा जित हासिल गर्दै एपिएफ सेमिफाइनलमा प्रवेश गरेको हो ।
पहिलो खेलमा एपिएफले पश्चिमाञ्चललाई २५–१९, २५–१३ र २५–१३ ले सोझो सेटमा हरायो भने दोस्रो खेलमा आर्मीलाई पनि २५–१५, २५–१२ र २५–१५ ले सोझो सेटमै पराजित गर्यो ।
समूह एमा रहेको पश्चिमाञ्चलले मंगलबार आर्मीलाई पराजित गरेको थियो र आर्मी बुधबार पुनः पराजित भएपछि पश्चिमाञ्चल तीन अंकसहित उपविजेताका रूपमा सेमिफाइनलमा पुगेको छ ।
बहुराष्ट्रिय कम्पनी जापान कन्साई नेरोल्याक पेन्ट्स (केएनपी) को मुख्य प्रायोजन तथा शिवम् सिमेन्टको सह–प्रायोजनमा संचालन भएको प्रतियोगिताको अन्तिम लिग खेलमा न्यू डायमण्डले जावलाखेललाई २५–७, २५–१० र २५–६ को सोझो सेटमा हराउदै अन्तिम चारमा स्थान बनायो ।
समूह बीमा रहेको पुलिस टिम जावलाखेललाई २५–१, २५–१२ र २५–२० को सोझो सेटमा हराउँदै उपविजेताका रूपमा सेमिफाइनलमा पुग्न सफल रह्यो ।
अब समूह एको विजेता एपिएफले समूह बीको उपविजेता पुलिससँग सेमिफाइनलमा प्रतिस्पर्धा गर्ने छ । त्यस्तै, समूह बीको विजेता न्यू डायमण्डले समूह एको उपविजेता पश्चिमाञ्चलसँग सेमिफाइनल भिडन्त गर्ने छ ।
प्रतियोगिताको विजेताले प्राप्त गर्ने रु. १ लाख ५० हजार क्वायरटुफ म्याट्रेसले प्रायोजन गरेको छ । प्रतियोगितालाई भव्यताका साथ सफल पार्न राष्ट्रिय खेलकुद परिषद्, नेपाल भलिबल संघ, डल्फिन चेयर, एयर एसिया, आइएमई सहयोगी साथी बनेका छन् ।
त्यस्तै, उपविजेताले रु. १ लाख र तेस्रो हुने टोलीले नगद ५० हजार रुपैयाँ प्राप्त गर्ने छन् । सर्वोत्कृष्ट खेलाडी र विधागत उत्कृष्टतर्फ स्पाइकर, क्विकर, सेटर, ब्लकर, डिफेन्स र सर्भरका लागि नगद पुरस्कार जनही तीन हजार रुपैयाँ जेम्स फ्लोरिङले प्रदान गर्नेछ । प्रतियोगिताको बैंकिङ पार्टनरका रूपमा एनआइसी एसियाले रहेको छ ।
उत्कृष्ट प्रशिक्षकलाई पनि पुरस्कृत गरिने भएको छ । टोलीले पाएको सफलता, खेलाडीको स्तर र प्रदर्शनका आधारमा फाइनल पुग्ने दुई टोलीबाट एक टिमका प्रशिक्षकले रु. तीन हजार नगदसहित बुद्ध एयर बेस्ट प्रशिक्षकको उपाधिबाट प्राप्त गर्नेछन् ।
एकजना खेलाडीलाई शेरबहादुर खड्का स्पेसल अवार्डबाट आर्कषक ट्रफी र नगद रु. १० हजार सहित सम्मान गरिने छ ।





























प्रतिक्रिया