दाङको तुलसीपुर उपमहानगरपालिका–६ गोलौराका ४४ वर्षीय चन्द्रबहादुर डाँगी व्यावसायिकरूपमा उन्नत जातका गाईपालन गरेर सफल व्यवसायीका रूपमा चिनिएका छन् ।
छोटो समयमा सफल उद्यमीका रूपमा आफूलाई चिनाउने डाँगीले अहिले दुई जनालाई आंशिक रोजगारी दिँदै आएका छन् । विगत चार वर्षदेखि सो पेशा अँगालेका डाँगीलाई अहिले घरपरिवारका तीन सदस्यले पनि दिनभर सहयोग गरिरहेका छन् । एक सफल व्यावसायिक गाईपालकरूपमा चिनिएका डाँगी आजभोलि गाईका बाछाबाछीलाई स्याहार गर्ने कार्यमा निकै व्यस्त देखिन्छन । उनले आफूले वार्षिक रु आठ लाख बचत गर्न सफल भएको बताए ।
नेपाल प्रहरीमा विभिन्न पदमा कार्यरत रहेका डाँगी पछिल्लो समय वि.सं. २०५५ मा जाजरकोटको रक्दा इलाका प्रहरी कार्यालयमा प्रहरी सहायक निरीक्षक पदमा कार्यरत थिए । त्यस समय उनी तत्कालीन द्वन्द्वको समयमा नेकपा माओवादीले रक्दामा थापेको एम्बुसमा परी घाइते भएका थिए । घाइते भएपछि लामो समयको उपचारपछि बाँचेको बताउने डाँगीले तत्कालीन सरकारले द्वन्द्वमा परी अशक्त, घाइते भएका सुरक्षाकर्मीलाई सेवाबाट अवकाश दिने नीति ल्याएपछि आफू वि.सं. २०५९ मा सेवानिवृत्त भएको बताए । निवृत्त लगत्तै उनी रोल्पास्थित आफ्नो घरमा केही समयसम्म उपचार तथा आराम गरी बसेको र त्यसपछि बसाइँ सेरेर दाङको तुलसीपुरमा आएको बताउँछन् । आफ्नो स्वास्थ्यमा सुधार आएपछि तुलसीपुरमा होटल समेत सञ्चालन गरेका उनले त्यसमा घाटा लागेपछि व्यवसाय छोडेर एक सहकारीमा संस्था जागिर खान शुरु गरे ।
सोही सहकारीमा बचत तथा ऋण प्रवाहमा काम गर्दा कृषि क्षेत्रमा राम्रो सम्भावना रहेको जानकारी प्राप्त गर्ने अवसर पाएपछि आफूले वि.सं. २०७२ देखि साहारा पशुपालन फार्म खोलेर उन्नत जातको गाईपालन शुरुआत गरेको बताए । शुरुका वर्षमा स्थानीय व्यक्तिको दुई बिघा जमिन वार्षिक रु १२ हजारमा भाडामा लिई रु एक लाख लगानीमा यो व्यवसाय शुरु गरेका डाँगीले एउटा जर्सीगाईपालन गरेर यो व्यवसायको शुरुआत गरेको बताउँछन् । अहिले फार्ममा चार जर्सी, १७ होलेस्टन, एउटा साहीवाल जातका गरी जम्मा २२ गाई र १० बाछाबाछी रहेको उनले जानकारी दिए ।
एउटा जर्सीगाईको मूल्य रु एक लाख, होलेस्टन जातको गाईको मूल्य रु दुई लाख र साहीवाल जातको गाईको मूल्य रु एक लाख ५० हजार पर्ने उनको भनाइ छ । अहिले दैनिक ८० देखि ९० लिटर दूध स्थानीय तुलसीपुरका डेरी उद्योगमा बिक्री गर्ने उनले केही दूध आफ्नै फार्मबाट स्थानीवासीले खरिद गरी लाने गरेको बताए । कोरोना भाइरस सङ्क्रमणका कारण केही महिनासम्म आफूले उत्पादन गरेको दूधले बजार नपाए पनि अहिले भने बजारका लागि कुनै समस्या नभएको उनको दावी छ । डाँगीले गाईको दूधका लागि मात्र नभई अहिले मलमूत्र लिनका लागि पनि बिहानैदेखि सर्वसाधारण घरमा आउने गरेको बताउँछन् ।
गत बिहीबार उनको फार्ममा दूध खरिद गर्न आएकी तुलसीपुर उमहानगरपालिका–६ की ४५ वर्षीया सुशीला भट्टराईले आफ्नै घर आँगनमा शुद्ध गाईको दूध खान पाइने भएकाले किन्न आएको बताइन् । उनी भन्छिन्, “यसअघि एक लिटर दूध किन्नका लागि बजार जानुपर्ने बाध्यता थियो । तर अहिले घर छेउमा ताजा दूध पाउँदा खुशी लागेको छ ।” डाँगीको फार्ममा अहिलेसम्म रु २० लाखसम्म लगानी भइसकेको छ भने दुग्धजन्य पदार्थ र मल बिक्रीबाट वार्षिक रु १९ देखि २० लाखसम्म आम्दानी हुने गरेको बताइएको छ । सबै खर्च कटाएर यस व्यवसायबाट वार्षिक रु आठ लाख बचत हुने गरेको डाँगीले बताए ।
आफूले दुई बिघा जमिन गाईपालनका लागि भाडामा लिए पनि सिँचाइ अभावका कारणले घाँसखेती गर्न नसक्दा समस्या हुने गरेको बताए । घाँसको पर्याप्त उत्पादन नहुँदा दाना तथा पराल, चरनलगायत अन्य सामग्री खरिद गर्दा लागत खर्च बढेको डाँगीको भनाइ छ । “अहिलेसम्म सरकारी निकायबाट केही प्राविधिक सहयोग त पाएको छु । तर अरु आर्थिक सहयोग पाएको छैन”, उनले भने । गत वर्ष तुलसीपुर उपमहानगरपालिकाले उत्कृष्ट गाईपालक किसान भनेर पुरस्कृत गरेपछि त्यसबाट थप हौसला मिलेको उनको भनाइ छ ।
कम लगानीमा छोटो समयमा मनग्य आम्दानी गर्न सकिने भएकाले अहिले मेरो फार्ममा विभिन्न ठाउँबाट गाई हेर्न, जानकारी लिन तथा गाई खरिदका लागि समेत मानिस आउने गरेको उनले बताए । पढेलेखेका पैसा कमाउनकै लागि जागिर खानैपर्छ भन्ने मान्यतालाई गलत हुने भनाइ राख्ने डाँगीले साँच्चिकै पढेको कुरा व्यवहारमा लागू गर्ने हो भने कृषि व्यवसाय नै गर्नुपर्ने तर्क राख्छन् । तर त्यसका लागि राज्यले नारामा मात्र सीमित नभई व्यवहारिकरूपमै कृषि क्षेत्रलाई प्रोत्साहन गर्ने कार्यक्रम ल्याउनुपर्ने र त्यसैगरी उत्पादित सामग्रीलाई बजार व्यवस्थापनमा सहयोग गर्नुपर्ने उनको सुझाव छ । रासस





























प्रतिक्रिया