नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड नेपाल समूहका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले केपी ओलीमा पार्टी भावना, सामूहिकता र काम गर्ने अठोट नभएकै कारण अहिलेको स्थिति आएको आरोप लगाएका छन् ।
शनिबार धनकुटामा आयोजित प्रतिनिधिसभा विघटनको असंवैधानिक एवम् प्रतिगामी कदमविरुद्ध विरोधसभालाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री नेपालले केपी ओलीको खुट्टी देखेर पत्याए, तर मान्छे अगतिलो रहेको बताए । उनले भने, ‘आफ्नै सन्तान कुसन्तान बने, ओली देउता होलान् भन्ठानेको थिएँ, दानव पो रहेछन्।’
पार्टीको तर्फबाट पाँच वर्ष प्रधानमन्त्री चलाएर पार्टी घोषणापत्र, चुनावी घोषणपत्र अनुसार काम गर्नुस् भन्दा पनि ओली आफैँले काम नगरेर पार्टीले काम गर्न दिएन भन्नुमा कुनै तुक नरहेको उनले बताए।
नेता नेपालले यो विरोधसभा कुनै पद प्रतिष्ठाको लागि नभएर केपी ओली प्रवृति विरुद्धको लडाइँ रहेको उल्लेख गरे । उनले भने, ‘यो लडाइँ लोकतन्त्र बचाउनको लागि हो । प्रतिनिधिसभा पुनर्स्थापना गराउने पक्षको लडाइँ हो।’
उनले केपीले देश डुबाए, संविधान खाए तर अहिले उनका भजनमण्डलीले भनेको केपी बा मा रमाएको बताए । ‘ओलीलाई आफ्नो स्वार्थबाहेक केहीको चिन्ता छैन’, उनले भने, ‘ओलीलाई गरिब, मजदुर, बेरोजगार र समाजवादको चिन्ता छैन।’
‘प्रचण्डनेपाल जहाँ छन् त्यही नेकपा आधिकारिक हो। प्रचण्ड नेपाल जहाँ छन् सूर्य चिह्न त्यहींको हुन्छ। ओलीको चिह्न त वयलगाडा हो’, नेता नेपालले भने, ‘जनआन्दोलनको बेला वयलगाडा चडेर अमेरिका पुगिँदैन भनेका थिए । एमाले हुँदा ओलीबाट म पछुताएँ । अहिले वामदेव पछुताएका छन् । मैले वामदेवलाई भनेको छु, वालुवा पेलेर तेल निस्किंदैन। बरु आफ्नै तेल निस्किन्छ। उहाँ अझै पर्खनुस् भन्दै हुनुहुन्छ ।’अन्नपूर्णबाट





























प्रतिक्रिया