खुलामञ्च खुला गरिएको बारे के भन्छन्, महानगर प्रमुख शाक्य ?

खुलामञ्च खुला गरिएको बारे के भन्छन्, महानगर प्रमुख शाक्य ?

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ महानगरपालिकाले खुलामञ्चलाई खुला गर्ने अभियान थालेको छ। राष्ट्रिय महत्वको संरचना दरबार हाइस्कुलको निर्माण सम्पन्न भएको र वीर अस्पतालको समेत पुनर्निर्माण कार्य सम्पन्न चरणमा पुगेको भन्दै ती संरचना पुनर्निर्माणका लागि थुपारेका निर्माण सामग्री र संरचना हटाई काठमाडौँ महानगरपालिकाले खुला गर्ने पहल सुरु गरेको हो ।

‘राष्ट्रिय महत्वको संरचना दरबार हाइस्कुल र वीर अस्पतालको पुनर्निर्माणको क्रममा त्यहाँ प्रयोग हुने निर्माण सामग्रीहरु र त्यहाँ काम गर्ने केही कामदारलाई राख्नका लागि उहाँहरुको आग्रहमै हामीले त्यहाँ सहमति दिएका थियौँ,’ काठमाडौँ महानगरपालिकाका प्रमुख विद्या सुन्दर शाक्यले भने, ‘वीर अस्पताल र दरबार हाईस्कुलको पुनर्निर्माण सम्पन्न चरणमा पुगेपछि हामीले आजबाट उहाँहरुलाई पनि जानकारी दिएर खुलामञ्चलाई खुला गर्ने अभियान थालेका हौँ ।’ उनले विस्तारै बसपार्क पनि खुला गर्ने जानकारी दिए ।  

‘काठमाडौँ महानगरपालिका सार्वजनिक जग्गाको संरक्षण अभियानमा लागि परेको छ,’ शाक्यले भने, ‘खुलामञ्च मात्रै होइन महानगरपालिका क्षेत्र भित्रका अतिक्रमित सार्वजनिक जग्गालाई महानगरपालिकाले खोजी गरी पार्क बनाउने, खुला राख्ने जस्ता अभियान चलाएको छ । त्यस्तो कतै जानकारी छ भने हामीलाई भन्नुहोला ।’  

भिडियो यहाँ हेर्नुहोस् 

काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीले पनि मेयर (काठमाडौँ महानगरपालिकाका प्रमुख विद्या सुन्दर शाक्य) को निर्देशन अनुसार नै खुला गर्ने अभियान थालेको बताए।  ‘दरबार हाइस्कुल र वीर अस्पताल प्रशासनसँग निरन्तर छलफलपछि हामी यो चरणमा आएका हौँँ,’ काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ज्ञवालीले भने, ‘राष्ट्रिय महत्वका सरकारी संरचना निर्माण हुने र निर्माण सामग्री राख्न ठाउँ अभाव भएपछि उहाँहरुले महानगरपालिकासँग गरेको आग्रह अनुसार नै ठाउँ उपलब्ध गराएको हो । कोभिड–१९ को कहर लगायतका कारण संरचना निर्माणमा केही ढिलाई भएकाले खुलामञ्चमा राखिएका निर्माण सामग्री हटाउन केही ढिलाई भएको हो । दरबार हाइस्कुल निर्माण सम्पन्न भई हस्तान्तरण भइसकेको छ भने वीर अस्पताल पनि निर्माण सम्पन्नको चरणमा छ । त्यसैले खुलामञ्च खुला गर्ने काम थालेका हौँ । केही दिनभित्रै सबै खुला हुन्छ ।’  

Skip This
Skip This
Logo