केन्द्रबिन्दु बुलेटिन : भागरथी भट्टका हत्या आरोपित पक्राउ (भिडियोसहित)

केन्द्रबिन्दु बुलेटिन : भागरथी भट्टका हत्या आरोपित पक्राउ (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

हामीले हरेक दिन प्रमुख समाचारहरुलाई केन्द्रबिन्दु बुलेटिनको रुपमा प्रशारण गर्ने गरेका छौं । आज पनि हामीले दिनभरका मूख्य समाचारहरुलाई प्रस्तुत गरेका छौं । आजका समाचारहरु मध्ये बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कार–हत्या प्रकरणमा संलग्न भएको आरोपमा पक्राउ परेका सोही ठाउँका किशोर दिनेश भट्टलाई प्रहरीले सार्वजनिक गरेको छ । मंगलबार राति घरबाटै पक्राउ गरिएका दिनेशले हत्या स्वीकार गरेपछि बुधबार जिल्ला प्रहरी कार्यालय बैतडमा सुदूरपश्चिम प्रदेशका प्रहरी प्रमुख डिआइजी उत्तमराज सुवेदीसहितका प्रहरी अधिकारीले पत्रकार सम्मलेन गरेर घटनाबारे जानकारी गराउँदै अभियुक्तलाई सार्वजनिक गरेको हो ।

फागुनको महाधिवेशन असम्भव भएपछि नेपाली कांग्रेसले आफ्नो १४ औं महाधिवेशन आगामी भदौमा गर्ने भएको छ । आजको केन्द्रीय कार्यसमितिको बैठकमा पनि पार्टीले १४ औँ महाधिवेशनको नयाँ मिति पेश गरेको छ । महाधिवेशन भदौ ७ देखि १० गतेसम्म गर्ने गरी प्रस्ताव पेश गरिएको हो । सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबीच आजै भएको छलफलपछि भदौमा महाधिवेशन गर्ने प्रस्ताव पेश गर्ने सहमति भएको हो ।  

राष्ट्रिय महिला लिगको उपाधि एपिएफले जितेको छ । बुधबारको पहिलो खेलमा नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबबीचको खेल १–१ को बराबरीमा सकिएपछि एपिएफ २ खेल बाँकी रहँदै च्याम्पियन बनेको हो । यस्तै बुधबारको अर्को खेलमा विराटनगरमाथि १–० को जीत निकाल्दै एपिएफले लिगमा आफ्नो अपराजित यात्रा जारी राखेको छ ।

दक्षिण कोरिया सरकारले कोरियामा विभिन्न प्रवेशाज्ञा (भिसा) मा आई काम गर्ने र काम गर्न चाहेर प्रवेशाज्ञा परिवर्तन गरी अवधि थप गर्न चाहने विदेशी कामदारको प्रवेशाज्ञा १३ महिनाका लागि थप गर्ने भएको छ । यस्तै नेपालमा कोरियाको लागि श्रम सम्झौताको पर्खाइ गरी रोस्टरमा बसेकाको अवधि छ महिना थप हुने भएको छ ।  

कोरोना खोप खरिद गर्ने प्रयोजनका लागि अर्थ मन्त्रालयले १ अर्ब बजेट स्वीकृत गरेको छ । अर्थ मन्त्रालयले सरकारद्वारा कोरोना खोप खरिद गर्न खोलिएको कोषमा ५० करोड रुपैयाँ जम्मा गरेको थियो । यसरी भारतबाट २० लाख डोज खोप किन्ने निर्णय गरेसँगै अर्थ मन्त्रालयले एक अर्ब रुपैयाँ बजेट स्वीकृत गरेको हो । भारत सरकारले उपलब्ध गराएको १० लाख अनुदान र चिन सरकारले उपलब्ध गराउने भनिएको ५ लाख डोज बाहेक अन्य आवश्यक खोप नेपाल सरकार आफैंले खरिद गर्नु पर्ने भएको छ । त्यसका लागि, खोप किन्न मात्र ४८ अर्ब रुपैयाँ लाग्ने अनुमान अर्थ मन्त्रालयले गरेको छ ।  

Skip This
Skip This
Logo