वन तथा वातावरणमन्त्री प्रेमबहादुर आले र बेलायतका मन्त्री एवं संयुक्त राष्ट्र सङ्घीय जलवायु परिर्वतन सम्बन्धी पक्ष राष्ट्रको २६ औँ सम्मेलनका अध्यक्ष आलोक शर्माबीच आज मन्त्रालयमा भएको भेटमा आगामी नोभेम्बरमा हुने जलवायु परिर्वतन विश्व सम्मेलनमा नेपालको भूमिका तथा योगदान लगायतका विविध विषयमा छलफल भएको छ ।
सिंहदरबारस्थित मन्त्रालयमा आज भएको भेटमा उनीहरुबीच द्विपक्षीय हित र चासोका विविध विषयमा कुराकानी भएको हो । भेटका क्रममा मन्त्री आलेले नेपालको विकासमा बेलायतले पुर्याएको योगदानका लागि धन्यवाद दिएका थिए ।
भेटका क्रममा मन्त्री आलेले नेपाल वातावरण परिवर्तनको असर न्यूनीकरणका लागि विश्वव्यापी दायित्व बहन गर्न आफ्नातर्फबाट निर्वाह गर्नुपर्ने भूमिकाका लागि तयार रहेको स्पष्ट पारेका थिए । नेपालको जलवायु परिर्वतन गर्न योगदान नगन्यमात्रामा भए पनि यसको असरबाट अतिप्रभावित मुलुक रहेको स्मरण गराउँदै नेपाललाई अनुकूलनको क्षेत्रमा सहयोग गर्न मन्त्री आलेले आग्रह गर्नुका साथै नजिकिँदै गरेको जनवायु परिर्वतन सम्बन्धी विश्व सम्मेलनलाई नेपालले नजिकबाट हेरिरहेको बताए ।
उनले जलवायु परिर्वतनका कारण हाम्रो हिमालमा हिउँ पग्लँदै गएको, हिमाली जनजीवन प्रभावित हुँदै गइरहेका अवस्थामा कोप २६ मा नेपालले आफू लगायत हिमाली मुलुकको विषयवस्तुलाई जोडदारका साथ राखिने जानकारी दिए ।
भेटका क्रममा बेलायतका मन्त्री एवं संयुक्त राष्ट्रसङ्घीय जलवायु परिर्वतन सम्बन्धी पक्ष राष्ट्रको २६ औँ सम्मेलनका अध्यक्ष शर्माले नेपालमा भूकम्पपछिको पुनःनिर्माणमा आर्थिक लगायत सहयोग गर्दै आएको र आगामी दिनमा समेत उक्त कामलाई निरन्तरता दिने प्रतिबद्धता जनाएका छन् । अध्यक्ष शर्माले नेपालका लागि जलवायु परिर्वतन अनुकूलनका क्षेत्रमा आवश्यक सहयोग रहने विश्वास दिलाए ।
मन्त्री आलेले भने, “जलवायु परिर्वतनका क्षेत्रमा बेलायतले नेपालका लागि उल्लेख्य सहयोग गरेको छ, हामी खुशी भएका छौँ ।” भेटकै क्रममा अध्यक्ष शर्माले जलवायु शिखर सम्मेलनमा नेपालका सम्माननीय प्रधानमन्त्रीले सन् २०५० सम्म नेपालले शुन्य उत्सर्जन गर्ने प्रतिबद्धता जनाएको कुरा स्मरण गरे।
त्यसैगरी अध्यक्ष शर्माले नेपाललाई विभिन्न मुलुक सहभागी जलवायु परिर्वतन सम्बन्धी एक साझा मञ्च ‘एडप्टेसन कोलिएसन’ मा सहभागी हुन समेत आग्रह गरे । अध्यक्ष शर्माले नेपाललाई आफ्नो राष्ट्रिय प्रतिबद्ध योगदान (एनडिसी) लाई संशोधन गरी विकसित मुलुकले समेत अनुशरण गर्ने खालको महत्वाकाङ्क्षी योजना बनाउन सुझावसमेत दिए ।
शर्माले आजै वन तथा वातावरण मन्त्रालयमा कार्यरत सचिव तथा अन्य कर्मचारीसँग आगामी जलवायु परिर्वतन सम्मेलनमा आपसी साझेदारी, भावी कार्यदिशा, नेपालको अपेक्षा र नेपालका तर्फबाट गर्नुपर्ने योगदानका विषयमा संयुक्त छलफल गरेका थिए । छलफलका क्रममा पेरीस सम्झौता कार्यान्वयनका विषयमा नेपालको योजना, लक्ष्यका विषयमा मन्त्री एवं संयुक्त राष्ट्रसङ्घीय जलवायु परिर्वतन सम्बन्धी पक्ष राष्ट्रको सम्मेलनका अध्यक्ष शर्मालाई जानकारी गराइएको वन तथा वातावरण मन्त्रालयका सचिव विश्वनाथ ओलीले बताए।





























प्रतिक्रिया