मेलम्ची खानेपानी आयोजनाको सुरुङको परीक्षण गर्न आज पानी हालिएको छ । खानेपानीमन्त्री मणि थापाले साढे २६ किलोमिटर लामो सुरुङमा पानी भर्ने कामको शुभारम्भ गरे ।
सिन्धुपाल्चोकको मेलम्ची खोलादेखि काठमाडौंको सुन्दरीजलसम्मको सुरुङ भर्न १५ देखि २० दिन लाग्ने अनुमान छ । शुरुवाती चरण भएकाले सुरुङको क्षमताअनुसार भने पानी नछाडिने मन्त्री थापाले बताए ।
गत २९ असारमै सुरुङमा पानी भनेर परीक्षण गरिएको थियो तर हेलम्बु गाउँपालिका–१ स्थित अम्बाथानको अडिटको मुख्य गेट (नं १७) फुटेर निस्केको पानीले आयोजनाका एक इन्जिनीयर र चालकलाई बगाएको थियो । त्यसपछि आयोजनाको मुख्य दातृ निकाय एशियाली विकास बैंक (एडीबी) को अनुदान सहयोगअन्तर्गत चारजना विशेषज्ञको टोलीले सुरुङ, मुहानस्थल, गेटलगायतका संरचनाको पुनः जाँच गरी मर्मत गरिएको थियो । पुनः सुरुङ परीक्षण थालिएको हो ।
परीक्षणका लागि पहिले जसरी नै प्राविधिक मापदण्डअनुसार प्रतिसेकेन्ड २६० लिटरको दरले सुरुङमा पानी प्रवाह गरिनेछ । सुरुङमा पानी भरिएपछि करिब १० दिन यतिकै राखिनेछ । त्यसपछि प्रतिसेकेन्ड २६० लिटरकै दरमा १५ देखि २० दिन लगाएर बाहिर पानी फालेर सुरुङ खाली गरिनेछ । पानी सबै फालिसकेपछि करिब ७ दिन लगाएर सुरुङको गुणस्तर पुनः परीक्षण गरिनेछ ।































प्रतिक्रिया