यस्ताे हुँदैछ महामारीका बीच संगीतकर्मीहरूको संयमित दसैं

यस्ताे हुँदैछ महामारीका बीच संगीतकर्मीहरूको संयमित दसैं

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

दसैं नजिकिँदै गर्दा कलाकारहरू अझ भनौं गायक गायिकाको डिमान्ड उच्च हुन्छ । देश विदेशमा हुने स्टेज कार्यक्रममा उनीहरूको माग धेरै ने हुने गर्दछ । तर, यो वर्ष माहोल त्यस्तो रहेन । कोरोना भाइरसका कारण विगत ७ महिनाबाट सार्वजनिक कार्यक्रम  हुन सकेका छैनन्, स्टेज कार्यक्रम तथा लाइभ प्रस्तुतिको त कुरै नगरौं ।

यस अर्थमा यस वर्ष विगतका दसैंमा अत्यन्तै व्यस्त रहने कलाकर्मी निकै फुर्सदिला छन् । म्युजिक भिडियो बाहेकको मनोरञ्जन बजार आफैंमा निरिह छ । यस्तो विषय परिस्थितिमा नेपाल गीत–संगीतकर्मीको दसैं योजना के छ त ? कारोना प्रभावले गीत संगीतकर्मीहरु पक्कै पनि केही फुर्सदिलो त भएका होलान् तर, सधैंको दसैं झै यस वर्ष खुलेर हिड्ने, आफ्नो गाउँ फर्कने अथवा अग्रजबाट टिका जमरा ग्रहण गर्ने अवस्था भने छैन । यही विषयलाई केन्द्रमा राखेर केही गीत संगीतकर्मीहरूका दसैं योजना अनि बिचारहरू यहाँ समावेस गर्ने प्रयास गरेका छौं ।

माक्स लगाएरै टिका जमारको तयारीमा गायिका कोमल वली
गायिका, कलाकार तथा राष्ट्रिय शभा सदस्य कोमल वली राजनीतिक भेटघाटमा व्यवस्त छिन् । उनमा दसैं मनाउने खुब रहर हुँदाहुँदै पनि काेरोना महामारीले त्यो रहर शून्य छ । विशेष कामले गृह जिल्ला दाङ पुगेकी वलीले केन्द्रविन्दुसँग दसैं विशेष कुराकानी गर्दै भनिन्, ‘यो वर्ष दसैंको कुनै हर्सोल्लास छैन । विषम परिस्थितीका बीचमा दसैं आएको छ । धार्मिक तथा सांस्कृतिक हिसाबमा निकै महत्वपूर्ण चार्ड रहेपनि यस वर्ष दसैं संयमताका साथ मनाउने योजनामा छु।’

आफ्नो राजनीतिक कार्यव्यवस्तता अनि विभिन्न भेटघाटका कारण आफू नै असुरक्षित भएको हिसाबले पनि आफ्ना बुबाआमासँग केही दूरी राखेर नै दसैं मनाउने योजनामा छिन् गायिका वली । भन्छिन्, ‘आफू पनि मास्क लगाउने, आमा बुबालाई पनि मास्क लगाउन लगाएर अत्यन्तै संयमताका साथ टीका जमरा ग्रहण गर्ने तथा, घरमै जे जस्तो छ त्यहीं रमाएर दसैं मनाउँदै छु । ’
यो वर्षको दसैंमा गायिका वलीले कुनै सपिङको योजना बनाएकी छैनन्, कहिँ कतै दसैंकै विषयलाई लिएर भेटघाट तथा रमाइलो गर्ने योजना पनि छैन । यससँगै हरेक नेपालीलाई पनि समय र परिस्थिती अनुकुल दसैं मनाउन तथा अत्यावश्यक बाहेक बाहिर ननिस्कन, भिडभाड नगर्न तथा महामारी न्यूनिकरणमा सकेको सहयोग गर्न गायिका वलीको आग्रह छ ।

आमा भेट्नकै लागि गुल्मी तिर गायिका मञ्जु पौडेल
‘यो दसैंमा कुनै हर्सोल्लास छैन, रमाउने माहोल छैन ।’ गायिका मञ्जु पौडेल दुःख पोख्छिन् । हरेक वर्षका चार्डवार्डमा स्टेजमा राज गर्ने बानी परेकी मञ्जुको दैनिकीमा यस वर्ष कोभिड–१९ को असर नमज्जासँग परेको छ ।

‘गायन, मनोरञ्जन अनि स्टेज प्रस्तुतीको त कुरै नगरौं, सम्झँदा पनि भावुक हुन्छु । ७, ८ महिनादेखि चुपचाप बस्न बाध्य छौं, अब त लाग्छ जीवनको ट्रयाक नै बदल्नु पर्ने पो हो कि !’ पेशागत हिसाबमै पनि उनी सशंकित छिन् । तथापि, महामारीका बीचमा पनि दसैंमा आमा भेट्न गुल्मी गएकी छिन् ।

‘म एक्लै मेरी आमा भेट्न घर गुल्मी जाँदैछु । आफ्नी छोरीलाई समेत काठमाडौंमै छोडेर अत्यन्त सुरक्षित भएर आमा भेट्न गएकी हुँ’, उनी थप्छिन्,‘अब यस वर्षको दसैं, अनि रमाईलो पक्षलाई भुल्ने पक्षमा छु, मात्र आमासँग केही दिन बिताएर म काठमाडौं फर्कनेछु ।

गायिका पौडेल आफूमात्र होइन आफ्ना शुभचिन्तक अनि प्रशंसकहरूलाई पनि यस वर्षकाे दसैं सुरक्षित भएर मनाउँन आग्रह गर्छिन् । यो वर्ष कोरोनालाई जितौं, अर्का वर्ष खुलेर चाडपर्व मनाऔँ ।

८० वर्षिय बुबाको हातबाट टीका लगाउने राजनराजको रहर

गायक तथा संगीतकार राजनराज शिवाकोटी यो दसैं लाई तनावग्रष्त दसैं भन्छन् । यसअघिका दसैं सम्बद्ध अनुभूति भन्दा बिल्कुल सामान्य अनि सरल दसैं मनाउने सोचमा रहेको सुनाउँछन् शिवाकोटी ।

‘अत्यन्तै सरल दसैं मनाउने योजनामा छु, कुनै किनमेल छैन, कुनै भेटघाट वा ग्यदरिङको योजना पनि छैन। मात्र ८० वर्षको बुबा हुनुहुन्छ, उहाँको साथमा रहेर उहाँको हातबाट जसोतसो टीका जमरा लगाउँने भन्दा ठूलो रहर पनि छैन ।’ गीतसंगीतको दुनियाँमा निकै व्यस्त शिवाकोटी आफूमात्र नभएर सम्पूर्ण नेपालीहरूमा सहज सरल अनि जहाँ छौं, त्यही बसेर दसैं मनाउनका लागि आग्रह समेत गर्छन् ।

दसैं तिहार लाइभ कार्यक्रम ल्याउँदै प्रकाश सपुत

गायक तथा कालकार प्रकाश सपुत महामारीका बीचमा काठमाडौं छोडेर कतै जाने सोचमा छैनन् । यतिबेला उनका बुबा आमा काठमाडौंमै हुनुहुन्छ, साथमा दुईजना भाइ र श्रीमती छोरी गरेर ७ जनोका परिवार बसेर दसैं मनाउदैँछन् प्रकाश सपुत । अन्य स्रष्टा र सजर्कझैं दसैंलाई समान्य तरिकाले सुरक्षित मनाउने योजनमा रहेका प्रकाशले भर्चुअल माध्यमबाटै भएपनि आफ्ना स्रोता दर्शकलाई भने मनोरञ्जन दिलाउने योजना बनाएका छन् ।

‘अष्टमीको दिनबाट मेरो नयाँ लाइभ कार्यक्रम ‘दसैं तिहार लाइभ’ ४ हप्ताको लागि आउँदैछ । यही माध्यमबाट स्रोता दर्शकसँग जोडिने अनि दसैं तिहारका अनुभूतिहरू साट्ने योजनामा छु, गायक सपुत भने । उक्त कार्यक्रमा एपिवान एजडीबाट शनिबार प्रसारण हुने भएकाले घरमै बसेर सरल र सहज तरिकाबाट दसैं मनाउँदै कार्यक्रम हेरेर साथ दिन पनि सपुतले सम्पूर्ण दर्शक स्रोतासँग आग्रह गरेका छन् ।

शरदसँगै दसैं आयो तर, माहोल दसैं जस्तो भएन–आस्था राउत

गायिका आस्था राउत आफ्ना विभिन्न योजनालाई थाति राखेर महामारीको समय कटाई रहेकी छिन् । अन्य वर्षहरूमा खुब स्टेज कार्यक्रमहरूमा व्यस्त रहने आस्था यो वर्ष सुनसान दसैं मनाउँन बाध्य छिन् ।

‘शरद ऋतुको आगमनसँगै दसैं आएको आभास भयो, तर महामारीका कारण अहिलेको वातावारण दसैं जस्तो भएकै छैन,’ आस्था थप्छिन् ‘कौशिमा, बगैँचामा फूलहरू फूलेर यो दसैंको बहार बोकेर आएपनि कोभिडले लथालिंग बनायो ।’

यस वर्षको दसैंमा आस्थाले केही थान लुगा कपडा त किनिन्, तर लुगा कपडासँग खुसी नआएको गुनासो छ उनीसँग । ‘आवश्यकता अनुसार केही सपिङ गरियो तर, खुसी आएन । माहोल दसैं झै लागेकै छैन । तर, अवस्था अनुसार विषम परिस्थितीमा पनि खुसी खोज्ने प्रयास गर्दै छु, सायद म मात्र होइन हरेक मान्छे खुसी खुज्ने प्रयासमा हुनुहुन्छ होला ।’

स्वास्थ्य नै धन हो भने झैं यो वर्ष सकेसम्म स्वस्थ्य रहने प्रयास गरौं, ज्यान रहे अर्को वर्ष रमाउँला

यो दसैंमा आस्था आफ्ना बुबा आमाको हातबाट टीका जमरा ग्रहण गर्ने योजनामा थिइन् तर, आफ्नो कुलमा जुठो परेकोले त्यताबाट पनि आस्थाको दसैंको खुसी खोसिएको छ । ‘अब, जे छ जस्तो छ त्यसैलाई स्विकार गर्दै दसैंसँग रमाउने हो । स्वास्थ्य नै धन हो भने झैं यो वर्ष सकेसम्म स्वस्थ्य रहने प्रयास गरौं, ज्यान रहे अर्को वर्ष रमाउँला, उनी सबैका लागि शुभकामना सहितको सन्देश छोड्छिन् ।’

जिन्दगी रहे आउँदो साल उमंगले दसैं मनाउँला– मिलन नेवार

यसवर्षको दसैं काठमाडौंमा बित्ने छ गायिका मिलन नेवारको । आमा बुबा, बहिनी अनि मिलन भएर काठमाडौंमै यो वर्षको दसैंलाई विशेष बनाउने कोशिश गरिरहेकी छिन् । ‘जिन्दगी रहे पक्कै रमाइलो गर्न पाइनेछ भन्ने मान्यतामा रहे यो वर्षको दसैं साधारण हिसाबमा मनाउने सोचमा छु, साथमा दर्शक स्रोतालाई पनि यही अनुरोध गर्दछु, केन्द्रविन्दुसँगको भेटमा मिलनले सुनाइन् ।
सेलेव्रेटीको जीवन चाडपर्वमा झनै व्यस्त हुने गर्दछ । तर, यस वर्ष सबै कलाकर्मी फुर्सदमा छन् । यो फुर्सदिलो पनले गायिका मिलन नेवारलाई पनि बेचैन बनाएको छ । उनी स्टेजका कुरा निकाल्दा मात्रै पनि उत्साहित हुन्छिन् । तर, कोरोना कहरका बीच खुम्चिएर दसैं मनाउनुको विकल्प देख्दिनन् गायिका नेवार ।

Logo