काठमाडौं ।
ब्राजिलका पूर्व फुटबलर तथा विश्व फुटबलका महान हस्ती पेले आजबाट ८० औं वर्षमा प्रवेश गरेका छन् ।
ब्राजिललाई तीन पटकसम्म विश्वकपको उपाधि जिताएका महान फुटबलर पेलेको जन्म १९४० अक्टोबर २३ मा ब्राजिलको ट्रेस कोराकस गाउँमा बुवा जाआओ रामोस र आमा डोना सेलेस्टेको जेठोे सन्तानका रुपमा जन्मिएका पेले शताब्दिकै सफल फुटबलर हुन ।
गरिब परिवारमा जन्मेका पेले जुत्ताको मोजामा बल बनाएर फुटबलको अभ्यास गर्दथे। एक स्थानीय खेलमा जुत्ता बिना नै मेदानमा उत्रिएका उनले सबैभन्दा धेरै गोल गरेका थिए । त्यसै खेलबाट ब्राजिलको फुटबल सम्बद्ध संस्थाको नजरमा परेका उनी राष्ट्रिय टोलिमा पनि समाहित भए ।
जब उनी राष्ट्रिय टोलीबाट खेल्न थाले कहिल्यै पनि खेल जीवनमा पछाडि फर्केर हेर्न परेन । उनले ब्राजिलका लागि करिब २२ वर्षे फुटबल करियरमा फ्रेन्डली र टुर म्याचबाहेक १३ सय ६३ खेलमा १२ सय ८१ गोल गरेका थिए भने ब्राजिलीयन राष्ट्रिय टोलीका लागि ९२ खेलमा ७७ गोल गरेका थिए ।
सन १९५८, १९६२ र १९७० तीन पटकसम्म विश्वकपको उपाधि उचाल्न महत्वपूर्ण भूमिका निर्वाह गरेका पेले दुईपटक विश्वकपका सर्वश्रेष्ठ खेलाडी घोषित भएका थिए । पेलेको सन्न्यासपछि ब्राजिलले चौथोपटक विश्वकप विजेता बन्न २४ वर्ष कुर्नुपरेको थियो । ब्राजिलको खेलमा उपलब्धि र योगदानका कारण, पेलेलाई ब्राजिलको राष्ट्रिय नायकका रूपमा लिइन्छ ।
फिफाले आधिकारिक रूपमै विश्वभरका लागि उनलाई फुटबल राजदुत नियुक्त गरेको छ । उनलाई ब्राजिलको सरकारले राष्ट्रिय सम्पति समेत घोषणा गरेको छ । सामान्य परिवारमा जन्मिएर फुटबलमा एकछत्र राज गरेका महान फुटबलर पेले प्रति जन्मदिनको शुभकामना ।































प्रतिक्रिया