चितवनको भरतपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको हालसम्मको खर्च विवरण सार्वजनिक भएको छ । धुर्मुस सुन्तली फाउण्डेशनले सोमबार पत्रकार सम्मेलन गर्दै निर्माणाधीन रंगशालाको हालसम्मको खर्च विवरण सार्वजनिक गरेको हो । फाउण्डेशनले सार्वजनिक गरेको खर्च विवरण अनुसार रंगशाला निर्माणमा आर्थिक संकट देखिएको छ ।
फाउन्डेशनले डीपीआर अनुसार रंगशाला निर्माणको कुल लागत ३ अर्ब ५५ करोड रहेको जनाएको छ । तर ०७७ सम्ममा ३२ करोड ३० लाख २४ हजार ३ सय ५४ रुपैंयाँ ८० पैसा मात्र आर्थिक संकलन भएको छ । फाउन्डेशनका अनुसार परियोजना निर्माणका लागि १.१० प्रतिशत पैसा संकलन भएको छ । जसमा ४३ करोड ४८ लाख ६ हजार ३ सय ८२ रुपैंया २३ पैसा खर्च भएको छ ।
रंगशाला निर्माणमा हालसम्म ११ करोड १७ लाख ८२ हजार २७ रुपैंयाँ ४३ पैसा ऋण रहेको फाउन्डेशनले जानकारी दिएको छ । आर्थिक अभाव र ऋणकै कारण रंगशाला निर्माण कार्य अपेक्षाकृतरुपमा अघि बढ्न नसकेको फाउन्डेशनले जनाएको छ । भरतपुर नगरपालिकाले उपलब्ध गराएको २० बिघा जग्गामा रंगशाला निर्माण भइरहेको छ । २०७५ साल माघ १६ गते महानगर र फाउण्डेशनबीच सम्झौता भएपछि रंगशाला निर्माण अघि बढेको थियो । रंगशाला नेपालको मौलिकता झल्कने गरि कमलको फूलको आकारमा निर्माण गरिनेछ । रंगशाला ३० हजार दर्शक क्षमताको हुनेछ ।
रंगशाला निर्माण कार्यमा मैदानको काम ८५ प्रतिशत सकिएको छ भने प्याराफिट तर्फको काम ३० प्रतिशत सम्पन्न भएको फाउन्डेशनका अध्यक्ष सीताराम कट्टेल 'धुर्मुस'ले जानकारी दिए ।































प्रतिक्रिया