‘अब मल अभावले कृषि उत्पादन घट्ने दिन सकिए’ : मन्त्री अर्याल

‘अब मल अभावले कृषि उत्पादन घट्ने दिन सकिए’ : मन्त्री अर्याल

केन्द्रबिन्दु
0
Shares

कृषि तथा पशुपंक्षी विकास मन्त्री पद्माकुमारी अर्यालले आगामी आर्थिक वर्षको बजेटबाट व्यवस्था हुनेगरी प्रथम चौमासिक अवधिमा यही फागुन महिनाभित्र ३ लाख मेट्रिक टन मल आपूर्तिका लागि प्रक्रिया सुरु गरिने बताएकी छन् । यसले गर्दा अब मलको अभावमा उत्पादन घट्ने र किसान मर्कामा पर्ने अवस्थाको अन्त्य हुने उनले बताएकी छन् । बिहिवार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री अर्यालले त्यस्तो बताएकी हुन् ।

तत्कालिन समाधानको रुपमा अहिले गरिएको व्यवस्थापन, मध्यकालिन समाधानको रुपमा मासिक कार्यतालिकाको आधारमा मलको सहज आपूर्ति र दीर्घकालिन समाधानका लागि मल उत्पादन गर्ने कारखाना स्थापना गर्नेगरी मन्त्रालय अगाडि बढेको मन्त्री अर्यालले बताइन् । मलको समस्या रहिरहन नदिन सातै प्रदेशमा मलको भण्डारणको व्यवस्था गरिने उनको भनाइ छ । 

अनुमानको आधारमा मलको आपूर्ति नभएर तथ्य र आवश्यकताका आधारमा गर्ने गरी सबै प्रदेशसँग त्यहाँको आवश्यकता माग गरिएको उनले बताइन् । उनले भनिन् , ‘मलको आपूर्ति अनुमानको आधारमा होइन तथ्य र आवश्यकताको आधारमा गर्नेगरी प्रदेशहरुसँग आवश्यकता कति हो भन्ने माग गरिएको छ । त्यसको आधारमा प्रबन्ध गरिनेछ ।’

यस आर्थिक वर्षमा व्यवस्था गरिएको ११ अर्ब बजेट मध्येबाट ५ लाख मेट्रिक टन (युरिया मल २ लाख ८२ हजार ५ सय, डिएपी २ लाख २ हजार ५ सय र पोटास १५ हजार) आयात गर्ने लक्ष्य रहेको मन्त्री अर्यालले बताइन् । जसमध्ये यस आर्थिक वर्षमा १ लाख ८७ हजार मेट्रिक टन मल बिक्री भइसकेको छ भने १ लाख ६२ हजार मेट्रिक टन स्टक र नेपाल भित्रिने क्रममा रहेको छ । गतवर्ष जम्मा ३ लाख ९४ हजार ६ सय मेट्रिक टन मल विक्री भएको थियो । 

यस आबको आयातबाट जम्मा २ लाख मेट्रिक टन मल आगामी धान सिजनका लागि मौज्दात रहने देखिन्छ । पछिल्ला ३ वर्षहरुको विक्रीको आधारमा साउनदेखि असोजसम्म जम्मा १ लाख ३ हजार मेट्रिक टन मल खपत हुने अनुमान गरिएको छ । 

Skip This
Skip This
Logo