समाज कल्याण खेलकुद केन्द्र र सामाजिक युवा क्लबले सहिद स्मारक सि डिजिजन लिग फुटबलमा विजयी सुरुवात गरेका छन्।
सातदोबाटोस्थित एन्फा मुख्यालयको मैदानमा मंगलबार सम्पन्न खेलमा समाज कल्याण खेलकुद केन्द्रले पुरानो क्लब सानो गौचरण युथ क्लबलाई ३–२ गोल अन्तरले पराजित गर्यो। अर्को खेलमा सामाजिक युवा क्लबले स्वयम्भु क्लबलाई पनि ३–२ ले हराउँदै लिगमा सुखद सुरुवात गरेको थियो। पहिलो खेलमा समाज कल्याणलाई जित दिलाउन रुपेश अधिकारी, राकेश विश्वकर्मा र शरद राईले एक÷एक गोल गर्दा उर्गेन लामा र रमण तामाङले सानो गौचरणका लागि एक÷एक गोल फर्काएका थिए।
२५ औं मिनेटमा रुपेशले गोल गर्दै समाज कल्याणलाई १–० को अग्रता दिलाएको खेलमा २९ औं मिनेटमा उर्गेनले गोल गर्दै सानो गौचरणलाई १–१ गोलको अवस्थामा ल्याएका थिए। ५३ औं मिनेटमा राकेशले गोल गरेपछि समाज कल्याणको अग्रता २–१ को भएको थियो। ५७ औं मिनेटमा रमणले गोल गर्दै सानो गौचरणलाई पुनः २–२ गोलको बराबरीमा ल्याए। तर खेलको ७७ औं मिनेटमा शरदले गोल गर्दै समाज कल्याणलाई ३–२ को जित दिलाए।
त्यस्तै दिनको दोस्रो खेलमा सामाजिक युवा क्लबलाई जित दिलाउन बसन्तबहादुर रानाले ह्याट्रिक गर्दा दुई गोल गरेको स्वयम्भूका लागि महेश लामा र विकी राईले एक गोल गरेका थिए। बसन्तले ३२ औं, ७८ औं र इन्जुरी समयमा गोल गरेर ह्याट्रिक पूरा गरेका थिए भने विकीले ४७ औं र महेशले ८४ औं मिनेटमा गोल फर्काएका थिए। जित निकालेको सामाजिक युवाले महत्वपूर्ण तीन अंक जोड्दै लिग सुरुवात गर्दा स्वयम्भूले हारबाट लिग सुरुवात गरेको छ।
लिगमा बुधबार प्लानिङ ब्वाइज युनाइटेड र चर्च ब्वाइज युनाइटेड तथा विरगञ्ज युथ एकेडेमी र झापा एफसीबीच खेल हुनेछ।































प्रतिक्रिया