दशैंमा दैनिक २२ हजार नागरिक काठमाडौं उपत्यका छोड्दै

दशैंमा दैनिक २२ हजार नागरिक काठमाडौं उपत्यका छोड्दै

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

विगतका वर्षहरुमा दशैं लागेसँगै काठमाडौं उपत्यका छोड्नेहरुको संख्या अत्याधिक हुन्थ्यो तर यस वर्ष कोरोना महामारीका कारण उपत्यकाबाट गाउँ फर्कने मानिसहरु निकै कम भएका छन् ।

विगत वर्षमा दशैंमा यातायात व्यवसायीहरुलाई भ्याइनभ्याइ हुन्थ्यो । तर यस वर्ष यातायात क्षेत्र सुनसान भएकाले उनीहरुका लागि दशैं पनि सुनसान जस्तै भएको छ । यस वर्ष न त यातायात व्यवसायीहरुले दशैंका लागि अग्रिम बुकिङ नै खुल्यो । बुकिङ खुल्दा बसको टिकट काउन्टर र बसमा मानिसको भिडभाड हुन्थ्यो तर यो वर्ष कोरोना महामारीका कारणले कतै पनि भिडभाड छैन । सरकारले पनि बारम्बार यो वर्षको दशैंमा जो जहाँ छौं त्यही बसेर मनाउन आग्रह गर्दै आएको छ ।

विगतका वर्षको तुलनामा यस वर्ष दशैंमा काठमाडौं उपत्यका छोड्ने मानिसको संख्या पनि एक चौथाइ भन्दा पनि कम रहेको छ । विगतका वर्षहरुमा फूलपाती र यस अघिका दिनमा दैनिक एक लाखभन्दा बढी मानिसहरुले उपत्यका छोड्ने गर्थे । यस वर्षको फूलपाति शुक्रबार हो तर घर र्फकने मानिसहरुको संख्या कम रहेको छ । यातायातमा यात्रु नपाएर गाडीहरु खालीखाली गुडिरहेका छन् ।

दशैं लागेदेखि दैनिक २३ हजार मानिसले मात्रै काठमाडौं उपत्यका छाड्ने गरेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । कात्तिक १ गते २१ हजार ४ सय ७९ जना मानिस काठमाडौं नाकाबाट बाहिर गएका छन् । यही समयमा ४ हजार ७ सय २१ वटा सवारी साधन बाहिरिएका थिए ।

कात्तिक २ गते २३ हजार ३९२ जना, ३ गते २३ हजार ८३६ जना नागरिक बाहिरिएका छन् । दुई दिनमा ९ हजार ३ सय ७७ वटा दुई पाङ्ग्रे र चार पाङ्ग्रे सवारीले काठमाडौं उपत्यका छोडेका छन् ।

कात्तिक ४ गते मंगलबार काठमाडौँबाट बाहिरिने मानिसको संख्यामा कमी भएको छ । ४ गते २२ हजार २ सय ९९ जना मात्रै मानिसहरुले काठमाडौं उपत्यका छोडेका छन् भने ४ हजार ४ सय ७८ सवारी साधन बाहिरिएका छन् ।

यहि अवधिमा काठमाडौं उपत्यका भित्रिने मानिसको संख्या पनि बाहिरिने मानिसहरुको जस्तै रहेको छ । मङ्गलवार १४ हजार ९ सय ७१ जना मानिस काठमाडौं उपत्यकाभित्र प्रवेश गरेको र यसअघिका तीन दिनमा औसत १६ हजार मानिस काठमाडौं आउने गरेको महाशाखाले जनाएको छ ।

यसरी दशैंमा पनि काठमाडौं उपत्यकाबाट मानिसहरु बाहिरिने संख्या कम हुनुमा सरकारले कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि गरेको लकडाउनको बेलामा उपत्यकाबाट गाउँ पूगेका आधा विद्यार्थीहरु तथा अन्य मानिसहरु गाउँमा नै रहेकाले पनि दशैंमा गाउँ फर्कनेहरुको संख्या कम भएको प्रहरीले अनुमान गरेको छ ।

गत असोज १ गतेदेखि सरकारले लामो दुरीका सवारी साधनलाई सञ्चालनको अनुमति दिएको थियो । असोज १ गतेदेखि अहिलेसम्म ६ लाख ७० हजार ८१ जना मानिसले काठमाडौं छोडेको ट्राफिक महाशाखाको तथ्यांकमा उल्लेख छ । त्यस्तै, काठमाडौं उपत्यका भित्रिने मानिसको संख्या ६ लाख २० हजार ८९ रहेको छ ।

Skip This
Skip This
Logo