अग्रिम टिकट नखुले पनि यात्रुलाई समस्या भएन

अग्रिम टिकट नखुले पनि यात्रुलाई समस्या भएन

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

सरकारले विगतका वर्षमा जसरी दशैँ तिहार, छठ लगायतका चाडपर्वमा घर जान चाहने नागरिकका लागि अग्रिम टिकट नखुलाए पनि यात्रु कम भएकाले सजिलै टिकट पाइरहेका छन् ।

दशैँका समयमा विगतका वर्षभन्दा धेरै कम यात्रुले मात्रै काठमाडौँ उपत्यका छाडेर घर गएकाले समस्या नभएको यातायात व्यवस्था विभागले जनाएको छ । बजारको मागकै आधारमा अग्रिम टिकट नखुलाइएको विभागका प्रवक्ता डा. लोकनाथ भुषालले बताए । बिगतका वर्षभन्दा झण्डै एक चौथाइले मात्रै उपत्यका छाडेको पाइएको यी यात्रुका लागि अहिले भइरहेकै सवारीसाधन पर्याप्त हुने उनले बताए।

उनका अनुसार आवश्यक पर्दा थप सवारीसाधन व्यवस्थापन गर्न सकिने यातायात व्यवसायीले बताएका छन् । उनले भने, “हामीले यातायात व्यवसायीसँग नियमित सम्पर्क गरिरहेका छौँ ।” विगत वर्षमा झण्डै २० लाखले दशैँमा घर जाने गरे पनि यो वर्ष झण्डै चार÷पाँच लाख मात्रै जाने अनुमान गरिएको छ ।

विगतका वर्षमा भीडभाड हुने गरेकामा अहिले लामो र मध्यम रुटका गाडी छुट्ने स्थानमा भीडभाड कम देखिएको छ । विभागले ट्राफिक प्रहरीसँगको समन्वयमा स्वास्थ्य सुरक्षाका मापदण्ड पालना भए नभएको अनुगमनसमेत गरिरहेको छ । केही दिन पहिले मात्रै सरकारले सार्वजनिक सवारीसाधनमा सिट अनुसार यात्रु राख्न पाउने र तोकिएभन्दा बढी भाडा लिन नपाउने व्यवस्था गरेको थियो ।रासस

Logo