अझै आएन कोरोना भत्ता, स्वास्थ्यकर्मी र कर्मचारी आन्दाेलित

अझै आएन कोरोना भत्ता, स्वास्थ्यकर्मी र कर्मचारी आन्दाेलित

केन्द्रबिन्दु
0
Shares

वीरगन्ज कोरोनाको इपिसेन्टर बनेको बेला संक्रमितको उपचार र सेवामा खटिएका स्वास्थ्यकर्मी र कर्मचारीले जोखिम भत्ता अझै पाएका छैनन्। वीरगन्जस्थित नारायणी अस्पताल र त्यस मातहत सञ्चालन गरिएका कोभिड १९ अस्पतालमा खटिएका स्वास्थ्यकर्मी र कर्मचारीले जोखिम भत्ता नपाएको गुनासो गरेका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भत्ताबापतको रकम अस्पतालको खातामा दुई महिनाअगावै पठाएको भए पनि आफूहरूले नपाएको उनीहरूको भनाइ छ। साउनदेखि कात्तिकसम्म चार महिनाको भत्ता नपाएको भन्दै उनीहरू आन्दोलित पनि भएका छन्।  उनीहरूले बिहीबार अस्पताल परिसरमा प्रदर्शन गरेका थिए।

अस्पताल प्रशासनले भत्ता वितरण नगरेकाले विरोधमा उत्रनुपरेको डा. उदयनारायण सिंहले बताए। अस्पतालको लेखा शाखाले मागेको सम्पूर्ण कागजात बुझाइसके पनि भत्ता वितरण नगरिएको सिंहको गुनासो छ।

नारायणी अस्पतालले सञ्चालन गरेको गण्डक अस्थायी कोभिड १९ अस्पतालका संयोजकसमेत रहेका डा. सिंहले भने, ‘कोभिड महामारीमा ज्यानको समेत पर्वाह गरिएन। घरपरिवारसमेत छाडेर महिनौँसम्म अस्पतालमै काम गरियो। तर, भत्ताका लागि आन्दोलन गर्नुपरेको छ।’

डा. सिंहका अनुसार अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारी गरी झन्डै ४ सय जनाले साउनयताको जोखिम भत्ता पाएका छैनन्। बिहीबार प्रदर्शन गर्दै अस्पताल प्रशासन घेराउ गरिएको अर्का डा. दीपक चौरसियाले बताए। उनले अस्पताल प्रशासनले छिट्टै भत्ता रकम वितरण गर्ने आश्वासन दिएको सुनाए। उनले भने, ‘२–४ दिनमा पाएनौं भने अझ सशक्त आन्दोलन गर्छौं।’

अस्पताल प्रशासनले भने कोभिड महामारीमा नखटिएकाहरूले पनि भत्ता दाबी गरेका कारण समस्या भएको जनाएको छ। अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. सञ्जय ठाकुरले जोखिम भत्ता अस्पतालका सबै स्वास्थ्यकर्मी र कर्मचारीले माग गरेको बताए। ‘त्यसैले जोखिम भत्ताका लागि कोभिडमा काम गर्ने कर्मचारीको ड्युटी प्रमाणित गर्न एउटा समिति बनाएका छाैं। उक्त समितिले ड्युटी प्रमाणित गरेर दिएलगत्तै नेपाल सरकारको नियमानुसार भत्ता वितरण गरिनेछ’, डा. ठाकुरले भने।

समितिका सदस्य एवं अस्पताल विकास समितिका सदस्य सन्तोष पासवानले भत्ताको मापदण्डभित्र पर्नेहरूको विषयमा समितिले छानबिन गरिरहेको बताए। उनका अनुसार कोभिड महामारीमा अस्पतालको आईसीयू, आकस्मिक कक्ष, पीसीआर ल्याब र कोभिड अस्पतालमा प्रत्यक्ष खटेकालाई तलबको शतप्रतिशत भत्ता दिइनेछ।अन्नपूर्णबाट

Skip This
Skip This
Logo