चालू आर्थिक वर्षको ८ महिनामा १६ अर्बको सुन आयात भएको छ । भन्सार विभागले सार्वजनिक गरेको पछिल्लो तथ्यांक अनुसार यस अवधिमा १६ अर्ब २८ करोडको सुन आयात भएको हो, जुन अघिल्लो वर्षको यसै अवधिको तुलनामा ३ अर्ब ७१ करोडले बढी हो ।
यस अवधिमा सुन आयातको परिमाण ५० किलोले बढेको छ । चालू आवको फागुनसम्ममा जम्मा २३ सय किलो सुन आयात भएकोमा अघिल्लो वर्ष यस अवधिमा १२ अर्ब ५७ करोड बराबरको २२ सय ५० किलो सुन आयात भएको थियो।
चालू आवको पहिलो त्रैमाससम्म न्यून रहेको सुनको माग कात्तिकयता बढ्दै गएको देखिन्छ। दशैंतिहारजस्ता चाडपर्व र मङ्सिरमा बिहेको समय भएका कारण उक्त समयमा सुनको आयात उच्च रहेको थियो ।
कोरोना भाइरसका कारण मूल्य अत्यधिक बढेपछि चालू आवको सुरूको चरणमा नेपालमा यसको कारोबार ठप्पजस्तै भएको थियो। कोरोना रोकथाम गर्न लगाइएको बन्दाबन्दी तथा निषेधाज्ञाले सुन व्यवसाय प्रभावित भएको थियो। तर, पछिल्लो समय माग बढेपछि आयात पनि बढाइएको व्यवसायीहरूको भनाइ छ।
नेपालमा सुन आयात गर्ने अधिकार वाणिज्य बैंकहरूलाई मात्र छ। त्यसमा नेपाल सुनचाँदी व्यवसायी महासंघले पनि आवश्यक समन्वयन गर्दै आएको छ। महासंघले बजारको मागअनुसार बैंकहरूलाई सुन आयात गर्न सिफारिश गर्दै आएको छ।
दशैंतिहार र विवाहजस्ता कार्यक्रममा सुनका गरगहना लगाउने, आदानप्रदान गर्ने प्रचलन भएकाले त्यो समयमा व्यवसायीले सुनको आयात बढाएका थिए। मङ्सिरसम्म सिजन भएकाले सुनको आयात उच्च देखिए पनि पुसपछि बिहेको लगन नभएका कारण आयात घट्ने अनुमान व्यवसायीको थियो । सिजनपछि सुनको माग सामान्य घटे पनि त्यति प्रभाव परेको देखिँदैन।
नेपाल सुनचाँदी व्यवसायी संघका अध्यक्ष माणिकरत्न शाक्य यतिबेला सुनको आयात बढ्नु स्वाभाविक भएको बताउँछन्। सुनको आयात नबढेमा यसले अनियमितता निम्त्याउने उनको धारणा छ।अभियान दैनिकबाट





























प्रतिक्रिया