नेपाली कांग्रेसका नेता रमेश लेखकले सरकारको नेतृत्व लिन पार्टी तयार रहेको बताएको छ ।
पार्टी कार्यालय सानेपामा सोमबार बसेको पदाधिकारी र पूर्व पदाधिकारीको बैठकपछि उनले आवश्यक परे सरकारको नेतृत्व गर्न पार्टी तयार रहेको बताएका हुन् ।
उनले भने, “आवश्यकता पर्यो भने बैकल्पिक सरकार दिन्छौ भनेकै छ । तर अझै परिस्थिति सुनिश्चित र परिपक्क भएको छैन।”
बैठकमा क्रियाशील सदस्यता छानविन समितिले क्रियाशील सदस्यताको व्यवस्थापनको सम्बन्धमा भएको प्रगति, कमिकमजोरी लगायतबारे जानकारी गराएको थियो । क्रियाशिल सदस्यता सुरु नै नभएका सप्तरी, सिरहा, धनुषा, रसुवा, बारा, बर्दिया, बाँके, रुकुम पुर्व र डोल्पाका सम्बन्धमा कसरी अगाडि बढ्ने बारेमा बैठकमा छलफल भएको नेता लेखकले बताए।
सोमबारसम्म जम्मा ३ लाख ९२ हजार ७ सय ९४ जनाले क्रियाशील सदस्यताको सम्पूर्ण जानकारी इन्ट्री भइसकेको र त्यसमध्ये नयाँ १ लाख ८० हजार २ सय ७५ जना र नविकरण भएकोमा २ लाख १२ हजार ५ सय १९ जना रहेको उनले जानकारी दिए। लेखकका अनुसार मुलुकभर १० लाख क्रियाशील सदस्य रहेको अनुमान कांग्रेसले गरेको छ। कांग्रेसले महाधिवेशनको पुर्वसन्ध्यामा नविकरण र नयाँ वितरणका लागि भोलि मंगलबारसम्मको समय दिएको थियो।































प्रतिक्रिया