नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)सँगको सहकार्यमा रिभोसाइन्स मिडियाले कक्षा १०, ११ र १२ को विद्यार्थीहरुका लागि ‘डिजाइन काठमाडौं कन्टेस्ट’ आयोजना गर्ने भएको छ।
नेपालभरबाट अनलाइन माध्यमबाट सहभागी हुन पाउने वौद्धिक क्षमता प्रतिस्पर्धामा २०७८ वैशाख २० गतेसम्म सहभागीले नि:शुल्क रुपमा आवेदन दिन सक्नेछन् । प्रतिस्पर्धीले ‘डिजाइन काठमाडौं कन्टेस्ट’ मा एकल वा समूहगतरुपमा प्रतिस्पर्धामा भाग लिन पाउने र सहभागीले शिक्षकलाई दिशानिर्देशनको रुपमा राख्न पाउने रिभोसाइन्स मिडियाका लक्ष्मण डंगोलले बताए ।
डंगोलका अनुसार काल्पनिकरुपमा विद्यार्थीहरुले कम्तीमा बीस पन्ना शहरको परिकल्पाना बनाउन सक्नेछन् । प्रतिस्पर्धीले आफ्ना परिकल्पनामा काठमाडाैँ उपत्यकाको डिजाइन, भूगोल, बास्तुकला, समाज र सभ्यता, विज्ञान प्रविधि र संस्कृति, वातावरण र वन्यजन्तु, नीति तथा योजना, सम्पदा क्षेत्र र संरक्षणका उपाय, अनुसन्धान तथा विकास र नवप्रवर्तन, धर्म र शिक्षा प्रणाली, सडक सञ्जाल र स्मार्ट प्रविधि, विज्ञान पार्क र कबडहल, व्यवसायिक केन्द्र र कला तथा मनोरञ्जन र अर्थ व्यवस्थापन जस्ता उपशीर्षक समेटेर लिखित ढाँचा प्रस्तुत गर्नु पर्ने हुन्छ।
‘कल्पना गरौं, तपाईंले सोचेको काठमाडौं कस्तो हुनुपर्दछ । के तपाईँले काठमाडौं उपत्यका विकासका लागि आफ्नै परिकल्पना बनाउन चाहनुहुन्छ, त्यसका लागि ‘डिजाइन काठमाडौं कन्टेस्ट’मा सहभागी हुन सक्नुहुनेछ जस्ता कुरा उल्लेख गरेका छन् ।
विद्यार्थीले आवेदन दिने प्रक्रिया पनि ‘डिजाइन काठमाडौं कन्टेस्ट’ को वेबसाइटमा समावेश गरिएको छ । सहभागीले सोध्न सक्ने सम्भावित प्रश्नहरु, डिजाइन तयार पार्न पूर्व चाहिने आवश्यक खुराकहरु वेबसाइटबाट डाउनलोड तथा अध्ययन गर्न मिल्ने आयोजक रिभोसाइन्स मिडियाले जनाएको छ।
आयोजकका अनुसार विद्यार्थीहरुको सृजना प्रस्फुटन तथा शहर विकासका लागि चाहिने आवश्यक विषयवस्तुमा उनीहरुको बुझाइलाई थप मजवुत हुनेछ। यसरी परिकल्पना गर्दा उनीहरुको बौद्धिक विकास तथा विद्यार्थीहरुमा विविध स्रोधसामग्री अध्ययन तथा सोध गर्ने क्षमता अभिवृद्धि हुने उल्लेख छ।
बौद्धिक प्रतिस्पर्धीमा विजयीले दशहजार, पाँचहजार र दुई हजार नगद पुरस्कार पाउनेछन्।





























प्रतिक्रिया