गृहमन्त्री रामबहादुर थापा (बादल)ले कैलालीको टीकापुर घटनाको सम्बन्धमा वार्ताटोली गठन गरी संवादमा आउन आन्दोलनरत पक्षलाई आग्रह गरेका छन् ।
थारु कल्याणकारी सभा र थरुहट÷थारुवान संयुक्त संघर्ष समितिको आव्हानमा केही दिनदेखि माइतीघर मण्डलामा जारी धर्ना कार्यक्रममा बसेका थारु अगुवाहरुलाई भेट्न बिहीबार पुगेका गृहमन्त्री थापाले सरकार र संघर्ष समितिबाट वार्ता टोली गठन गरी समस्या समाधान गर्नुपर्ने बताएका हुन् । त्यसका लागि सरकारले छिट्टै वार्ताटोली गठन गर्ने र संघर्ष समितिबाट पनि धर्नालाई रोकेर वार्ता टोली बनाएर आउन आग्रह गरे । उनले आजैको मन्त्रीपरिषद्को बैठकमा कुरा राखेर वार्ता टोली गठन गरी निष्कर्षमा पुर्याउने प्रतिवद्धता समेत जनाए । उनले टिकापुर घटनाका कतिपय विषयहरु राजनीतिक रुपले हल गर्न सकिने र कतिपय कानूनी तथा प्रशासनिक रुपबाट हल गर्न सकिने समेत स्पष्ट पारे ।
पूर्व सांसद रुकमणी चौधरीले धर्नाको पाँचौ दिनमा गृहमन्त्री आफैं आएर मागहरुको सम्बन्धमा बुझ्नु सकारात्मक भएको बताइन् । उनले टीकापुर घटना राजनीतिक प्रकृतिको भएकोले राजनीतिक सहमतिको माध्यमबाट समाधान गर्नुपर्ने, रेशमलाल चौधरी, लक्ष्मण थारु लगायतमाथि लगाइएको मुद्दा फिर्ता हुनुपर्ने लगायतका १९ बुँदे माग राखिएको जानकारी दिइन् । उनले थारु कल्याणकारी सभा र थरुहट/थारुवान संयुक्त संघर्ष समितिको नाउँमा लिखित रुपमा नेपाल सरकारले पत्राचार गरेमा मात्रै वार्ता टोली गठन गरी संवादमा जाने बताइन् ।
थारु अगुवाहरुले २०७२ सालमा भएको टीकापुर घटनामा फौजदारी मुद्दा लागेकाहरुको मुद्दा फिर्ता र दोषी ठहर भई जेलमा रहेकाहरुको रिहाईको माग गर्दै आइतबारदेखि माइतीघर मण्डलामा धर्ना दिएका हुन् ।





























प्रतिक्रिया