काठमाडौं उपत्यकामा मेलम्चीको पानी वितरण, हाललाई शुल्क भने यथावत

काठमाडौं उपत्यकामा मेलम्चीको पानी वितरण, हाललाई शुल्क भने यथावत

केन्द्रबिन्दु
0
Shares

काठमाडौं महाँकालचौर स्थित पुरानो पानी पोखरीबाट मेलम्चीको पानी वितरणको शुभारम्भ गरिएको छ।

आइतबार काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) का प्रमुख कार्यकारी अधिकृत ई. मिलनकुमार शाक्य, खानेपानी मन्त्रालयका पदाधिकारी र मेलम्ची खानेपानी आयोजनाका पदाधिकारीले संयुक्तरुपमा खानेपानी वितरणको औपचारिक शुभारम्भ गरेका हुन्। महाँकाल क्षेत्रबाट चाबहिल, कुटुबहाल, आनन्दनगर क्षेत्रमा पानी पठाइएको केयूकेएलका प्रमुख कार्यकारी अधिकृत शाक्यले बताए। 

अहिले दैनिक ४ करोड लिटर पानी आएको र पानीको मात्रा बढ्दै जाने भएकाले सोही आधारमा समयतालिका निर्धारण गरी उपभोक्ताको घरमा पानी पठाइने पनि प्रमुख कार्यकारी अधिकृत शाक्यले बताए। अहिले सकेसम्म दैनिक र नसके एक दिन बिराएर पानी वितरण गर्ने तालिका बनाइएको पनि उनले बताए। कुनै ग्राहकको घरमा पानी नपुगेको खण्डमा जानकारी पाउने वित्तीकै र्यापिड रेस्पोन्स टीमले समस्या समाधान गरी पानी पुर्याउने पनि उनले बताए। 

हाल पुराना पानी पोखरीहरुमा मेलम्चीको पानी भरी पुरानै पाइपलाइन र धाराहरुमा पानी दिने र आयोजना कार्यान्वयन निर्देशनालयबाट बिच्छ्याइएका नयाँ पाइपलाइनहरु परीक्षण गर्दै पानी थप गर्दै लैजाने योजना अन्तर्गत पहिलोचरणमा आज ४ करोड लिटर पानी महाँकालचौर, अनामनगर, मिनभवन र खुमलटार स्थित पोखरीहरुमा जम्मा हुने योजना रहेको पनि शाक्यले बताए। 

आइतबार साँझसम्म काठमाडौंको मीनभवन, अनामनगर र खुमलटार क्षेत्रमा पनि पानी वितरण हुनेछ। दोस्रो चरणमा बालाजु स्थित पानी पोखरीमा समेत गरी ६ दशमलव ५ करोड लिटर, तेस्रो चरणमा बाँसबारी र महाराजगञ्ज स्थित पानी पोखरीहरुमा समेत गरी ८ दशमलव ५ करोड लिटर र चौथो चरणमा कीर्तिपुर, थिमी, भक्तपुर स्थित पोखरीहरुमा समेत गरी १७ करोड लिटर पानी जम्मा हुने र ती पोखरीहरुबाट काठमाडौं उपत्यका चक्रपथभित्र र आसपासका क्षेत्रहरुमा पानी वितरण गरिने योजना केयूकेएलको छ। हाललाई पानीको शुल्क यथावत रहेको पनि केयूकेएलका प्रमुखकार्यकारी अधिकृत शाक्यले बताए। 

Logo