बागलुङमा लागेको होली मेलामा झडपः दुई जनाको मृत्यु, थप विवरण आउन बाँकी

बागलुङमा लागेको होली मेलामा झडपः दुई जनाको मृत्यु, थप विवरण आउन बाँकी

केन्द्रबिन्दु
0
Shares

बडिगाड गाउँपालिका-१० दर्लिङ र प्युठान जिल्लाको सिमानामा लागेको होली मेलामा युवाबीच भएको झडपमा केही व्यक्तिको हताहती भएको बताइएको छ। 

दर्लिङको बल्देधुरीमा दुई युवा समूहबीच झडप हुँदा हताहती भएको बडिगाँड गाउँपालिका ९ का अध्यक्ष कृष्णबहादुर खत्रीले जानकारी दिए। 

गुल्मी, बागलुङ र प्युठानको सिमाना बल्देधुरीमा होली मनाउन गएका युवाबीच झडप हुँदा दुईको मृत्यु र केही युवा घाइते भएको हुनसक्ने खत्रीले बताए। 

मृत्यु हुनेमा ३६ वर्षीय प्रकाश कुँबर र ३४ वर्षीय दिपक दमाइ रहेका छन्। उनीहरुको शव बल्देधुरी भीरबाट ५०० मिटर तल खसेको अवस्थामा भेटिएको प्रहरी नायब उपनिरीक्षक इग्वाल हवारीले जानकारी दिए। 

घटनास्थल मानव बस्तीभन्दा केही टाढा रहेको र त्यहाँ प्रहरी तथा जनप्रतिनिधि पुग्न समय लागेकाले घटनाको विवरण आउन समय लागेको हो। 

आइतबार दिउँसो बडिगाड-१० बल्देधुरीमा तीन जिल्लाका करिब ६०० जना उपस्थित भएका थिए। स्थानीयवासीका अनुसार झडपपछि बागलुङकै निसीखोला गाउँपालिका-७ र बडिगाड-१० का केही युवा बेपत्ता भएको आशङ्का गरिएको छ। 

घटनामा १० देखि १५ जनासम्म हताहती भएको हुनसक्ने स्थानीयवासीले बताएका छन्। घटनापछि प्रहरी घटनास्थलतर्फ गएको इलाका प्रहरी कार्यालय भीमगिठेले जनाएको छ। घटनाको विस्तृत विवरण आउन बाँकी छ। रासस 

Skip This
Skip This
Logo