काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले खसी बोकाको बिक्री शुरु गरेसँगै खरिद गर्नेहरुको भीड लागेको छ । कम्पनीले आजदेखि सहुलियत दरमा खसी बोकाको बिक्री सुरु गरेको हो ।
कम्पनीको थापाथलीस्थित प्रादेशीक कार्यालय परिसरबाट दशैंका लागि खसी बोका बिक्री वितरण सुरु गरिएको छ । कम्पनीले जिउँदो खसी बोकाको प्रति केजी ५ सय ६० रुपैयाँ मूल्य निर्धारण गरी त्यसमा १० रुपैयाँ सहुलियत दिई ५ सय ५० रुपैयाँमा बिक्री गरिरहेको छ । बजारमा प्रतिकेजी ६ सय देखि ६ सय ५० रुपैयाँ प्रतिकेजीसम्म पर्ने खसी बोका ५ सय ५० रुपैयाँ मै पाउने भएपछि उपभोक्ताहरुको भीड लागेको छ । खसी बोका किन्नका लागि कोभिड संक्रमणको प्रवाह नगरी सयौंको संख्यामा उपभोक्ताहरु थापाथली पुगेका छन् ।
कम्पनीले बजार मूल्य नियन्त्रणका लागि भन्दै हरेक वर्ष दशैंमा खसी बोका र च्याङ्ग्रा बिक्री गर्दै आएको छ । तर यसपटक कोभिड–१९ संक्रमणको जोखिमका कारण विगतमा भन्दा कम संख्यामा खसी बोका बिक्री गर्न लागिएको पनि कम्पनीले जनाएको छ । यसवर्ष २ हजारको संख्यामा खसी बोका र १ हजार च्याङ्ग्रा ल्याई बिक्री गर्ने योजना बनाए पनि कोभिड संक्रमणको जोखिमलाई मध्यनजर गर्दै १ हजार खसी बोका मात्रै बिक्री गर्न लागिएको कम्पनीले जनाएको छ । यसपटक च्याङ्ग्रा भने बिक्रीमा राखिएको छैन् ।





























प्रतिक्रिया