डेरावालालाई डरै डर : ‘घरबेटीले रिपोर्ट पोजेटिभ आएको थाहा पाए के गर्ने ?’

डेरावालालाई डरै डर : ‘घरबेटीले रिपोर्ट पोजेटिभ आएको थाहा पाए के गर्ने ?’

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

सरकार भन्छ– ‘बेहोस हुन लागे–लागे मात्र अस्पताल जानुहोस्।’ कोरोना संक्रमितको संख्या बढ्दो छ। तिनलाई धान्न पुग्दो अस्पताल पनि छैनन् । त्यही भएर अधिकांशले घरलाई नै आइसोलेसन बनाइरहेका छन्।

आफ्नै घर हुनेका लागि त यसमा गाह्रो भएन । यसको मारमा परेका छन्– डेरा गरेर बस्नेहरू। घरबेटीलाई सुनाऔं, बस्न/पस्न नदिने डर। त्यही भएर प्रस्टै लक्षण भए पनि अधिकांश डेरावाल जँचाउन जान हिचकिचाइरहेका छन् । जँचाएर पोजेटिभ रिपोर्ट आउनेहरू चुपचाप भित्रै बसिरहेका छन्।

काठमाडौं उपत्यकामा संक्रमितको संख्या ५३ हजार ६ सय ८९ पुगेको छ । जसमध्ये काठमाडौंमा मात्रै ४३ हजार २ सय ६५ संक्रमित छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार काठमाडौंमा ९ हजार ९ सय ५२, भक्तपुरमा १ हजार ३ सय ५० र ललितपुरमा २ हजार ४ सय २० संक्रमित होम आइसोलेसनमा छन्। तीमध्ये ठूलो संख्या डेरावालाको छ। डेरावाल मध्येको ठूलो संख्या कष्टकर रूपमा समय बिताइरहेका छन्।

डेरावाल मध्ये कतिपय कोठा लिएर बसेका छन्। त्यो पनि मिलेर। कतिपयले फ्लाटै भाडामा लिएका छन्। तर, प्रायःलाई चिन्ता भने उही छ– ‘घरबेटीले रिपोर्ट पोजेटिभ आएको थाहा पाए के गर्ने ?’ काठमाडौं गौशालामा डेरा गरी बस्ने रविन नेपाल (नाम परिवर्तन) लाई पाँच दिन अघि कोरोना पुष्टि भयो। संक्रमितको सम्पर्कमा आएपछि उनले परीक्षण गराएका थिए । तर, उनी डेराबाट निकालिने डरले घरधनीलाई भन्न नसकेको बताउँछन्।

‘रिपोर्ट पोजेटिभ आएको हो’, उनी भन्छन्, ‘घरधनीलाई सुनाएको छैन । परीक्षण गराउन स्वाब दिएको थाहा पाउँदै कडीकडाइसाथ सोधखोज गर्न थालेकाले ढाँटें। यो महामारीमा घरबाट निकाले भने कहाँ जानु ? संक्रमित भन्ने थाहा पाए अन्यत्र पनि डेरा पाइन्न ।’ धुम्बाराही बस्ने हरि घिमिरे (नाम परिवर्तन) संक्रमित भएदेखि फोनमा पनि कुरा गर्न डराउने गरेको बताउँछन् । ‘साथीभाइले बिरामीलाई शुभेच्छा राखेर हालखबर सोध्दा आवाज दबाएर बोल्नु पर्छ’, उनी भन्छन्, ‘घरबेटी नभएको अवस्थामा मात्र परिवार र साथीभाइको फोन उठाउँछु।’

रविन र हरि प्रतिनिधि पात्र मात्र हुन् । सहरमा धेरै संक्रमित सामाजिक बहिष्कारमा पर्ने डरले मौन बसेका छन्। संक्रमित भएको अवस्थामा घरबेटीले नै दैनिक उपभोग्य वस्तु ल्याएर सहयोग गरिदिनु पर्ने हो। तर, बाध्यताले संक्रमित स्वयं नै रोग लुकाएर किनमेलमा निस्किन बाध्य छन्। कतिपय संक्रमित पोजेटिभ रिपोर्ट दराजमा राखेर दैनिकीमा निस्किन बाध्य छन्।

जनस्वास्थ्यविद् रवीन्द्र पाण्डे रोगप्रतिको बुझाइमा समस्या देखिएको बताउँछन् । ‘कोरोना जुन रुपमा थिएन त्यो रुपमा हेरियो’, पाण्डे भन्छन्, ‘कसैले केही होइन भनेर पूरै बेवास्ता गरे। कसैले टाढाबाटै बिरामीलाई हेर्दा पनि सर्छ भन्ने तरिकाले बुझे। बुझाइमा धेरै समस्या भएकाले हामी असामाजिकीकरणतर्फ मोडियौं।’ गाउँको कोसेली बाँडेर खाने घरबेटी र डेरावालको सम्बन्धलाई कोरोनाले दूरी बढाइदिएको उनको बुझाइ छ।अन्नपूर्णबाट

Skip This
Skip This
Logo