लेग स्पिनर सन्दीप लामिछाने टी–२० क्रिकेटमा १०० खेल खेल्ने पहिलो नेपाली खेलाडी बनेका छन् । त्रिदेशीय टी–२० सिरिजअन्तर्गत बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा मलेसियाविरुद्ध खेल्दै उनले उक्त राष्ट्रिय कीर्तिमान बनाएका हुन्। मलेसियाविरुद्धको खेलमा २० वर्षीय लामिछानेले चार ओभर बलिङ गर्दै ४२ रन खर्चेर तीन विकेट लिए। उनले हालसम्म १३६ खेल खेल्दै १३६ विकेट लिएका छन्।
हाल जारी त्रिदेशीय सिरिजमा उनले चार खेलमा ११ विकेट लिइसकेका छन्। नेदरल्याण्ड्ससँग भएको पहिलो खेलमा लामिछानेले दुई, मलेसियासितको खेलमा दुई, नेदरल्याण्ड्ससँगको दोस्रो खेलमा चार तथा आजको खेलमा तीन विकेट लिनुभएको हो। लामिछानेले नेपालका लागि टी–२० अन्तरराष्ट्रिय क्रिकेटमा सर्वाधिक विकेट लिने राष्ट्रिय कीर्तिमानसमेत बनाएका छन्।
उनले २५ टी–२० खेलमा ४५ विकेट लिएका छन् । यसअघि सर्वाधिक विकेट लिने राष्ट्रिय कीर्तिमान करण केसीका नाममा थियो । उनले ३२ खेलमा ४१ विकेट लिएका थिए । टी–२० मा लामिछानेले ७५ वटा टी–२० खेल भने विश्वका विभिन्न फ्रेन्चाइज लिगमा खेलेका हुन्। टी–२० अन्तरराष्ट्रिय खेलमा उनले २४ खेल नेपाली राष्ट्रिय टिमबाट तथा एउटा खेल विश्व–११ टोलीबाट खेलेका हुन्। सन् २०१८ मा वेस्ट इन्डिजमा भएको टी–२० अन्तरराष्ट्रिय खेलमा उनले डेब्यु गरेका हुन् । लामिछाने नेपालका लागि टी–२० क्रिकेटमा १०० विकेट लिने पनि पहिलो खेलाडी हुनुहुन्छ।
डेब्यु खेलमै कमलसिंह ऐरीको तीन विकेट
नेपालका कमलसिंह ऐरीले टी–२० अन्तरराष्ट्रिय क्रिकेटमा डेब्यु गरेका छन्। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहीबार भएको मलेसियाविरुद्धको खेलमा डेब्यु गर्दै २० वर्षीय ऐरीले तीन विकेट लिए।
त्रिदेशीय सिरिजअन्तर्गत बिहीबारको खेलमा उनले तीन दशमलव एक ओभर बलिङ गर्दै १६ रन मात्र खर्चिए । ऐरी अविनाश बोहराको स्थानमा टोलीमा समावेश भएका हुन् । उनले आफ्नो दोस्रो ओभरमा मलेसियामा शार्भिन मुनिएन्डीलाई तथा वीरनदीप सिंहलाई पेभेलियन फर्काए भने तेस्रो ओभरको पहिलो बलमा मोहम्मद वाकिफलाई कुशल मल्लद्वारा क्याचआउट गराएका थिए। महेन्द्रनगर घर भएका ऐरीले गत वर्ष नेपालमै सम्पन्न विश्वकप लिग–२ अन्तर्गत ओमानविरुद्धको खेलबाट एकदिवसीय अन्तरराष्ट्रिय क्रिकेटमा डेब्यु गरेका थिए। उक्त खेलमा उनी विकेटविहीन रहेका थिए ।
करण केसी विश्व रेकर्ड बनाउनबाट चुके
यहाँ जारी त्रिदेशीय टी–२० सिरिजमा नेपाली बलर करण केसी विश्व रेकर्ड बनाउनबाट चुके। मलेसियाविरुद्धको खेलमा उनले उत्कृष्ट ब्याटिङ गरे। आठौँ नम्बरमा ब्याटिङका लागि मैदानमा प्रवेश गरेका केसीले १३ बलमा ४५ रन बनाए। यस क्रममा उनले सात छक्का हानेका थिए । केसीले ११ बलमा ४४ रन बनाए । उनले १२औँ बलमा छक्का प्रहार गर्न सकेका भए सबैभन्दा छिटो अर्धशतकको विश्व रेकर्ड बराबरी गर्थे। तर केसीले १२औँ बलमा एक रन मात्र बनाए र विश्व कीर्तिमान बनाउनबाट वञ्चित रहे। हाल १२ बलमा अर्धशतक प्रहार गर्ने विश्व कीर्तिमान भारतीय क्रिकेट खेलाडी युवराज सिंहको नाममा छ।





























प्रतिक्रिया