प्रधानमन्त्री ओलीविरुद्ध सर्वोच्चमा दायर मुद्दाको सुनुवाइ आज

प्रधानमन्त्री ओलीविरुद्ध सर्वोच्चमा दायर मुद्दाको सुनुवाइ आज

केन्द्रबिन्दु
0
Shares

एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका कारबाही र स्पष्टीकरण गैरकानूनी भन्दै निलम्वित नेता माधवकुमार नेपालसहितले दायर गरेको रिटको सुनुवाइ आज हुँदैछ।

सुनुवाइका लागि रिटको पेसी न्यायाधीश प्रकाशकुमार ढुंगानाको एकल इजालासमा तोकिएको छ।

नेता नेपालसहित उनी पक्षका नेताहरू डा. भीमबहादुर रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसालले निर्वाचन आयोग र ओलीलाई विपक्षी बनाएर बिहीबार रिट दायर गरेका थिए।

रिट निवेदनमा निवेदकहरूले आलोचना गरेको आरोपमा ओलीले संविधान र पार्टीको विधानविपरीत २७ सांसदलाई दल त्याग गरेको भन्दै निश्कासन गरी कारबाही गर्न लागेको र उनले गरेका सबै कारबाही र स्पष्टीकरण स्वतः गैरकानूनी भएको जिकिर गरेका छन्।

पार्टीको फागुन २८ गते बसेको दशौं विशेष बैठकदेखि ११ औं र १२ औं बैठक पनि बदरभागी रहेको निवेदकहरूको दावी छ।

रिटमार्फत् अध्यक्ष ओलीले गरेका सबै काम कारबाहीहरूलाई उत्प्रेषणको आदेशले बदर गर्न माग गरिएको छ।

पार्टीको नवौं महाधिवेशनबाट निर्वाचित पद वा हैसियतलाई समाप्त पार्ने अधिकार अध्यक्ष ओलीलाई नभएको, सर्वोच्चको २३ फागुनको निर्णयलाई टिप्पणीसहित स्वीकारेर एमालेमै क्रियाशील रहेको र निर्वाचन आयोगमा भएको दलको संरचना, पदाधिकारसँगै विधान नै अन्तिम भएको पनि उनीहरूको जिकिर छ। 

प्रधानमन्त्रीसमेत रहेका ओलीले पार्टी एकताविरोधी गतिविधि गरेको, पार्टी संसदीय दलको विधानलाई उल्लङ््घन गरेको, पार्टी अनुशासनविपरीत अगाडि बढेको आरोपमा निवेदक नेपालसहितका नेताहरूलाई ६ महिनासम्म निलम्वन गरेका छन्।

नेपाल पक्षका २७ सांसदलाई पनि कारबाहीका लागि स्पष्टीकरण सोधिसकेका छन्। यसपछि नेपालसहितका नेताहरू सर्वोच्च पुगेका हुन्।

Logo