देउवाले भने: बहुमत नै पुगेको छैन तर, वैकल्पिक सरकार कसरी?

देउवाले भने: बहुमत नै पुगेको छैन तर, वैकल्पिक सरकार कसरी?

केन्द्रबिन्दु
0
Shares

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वैकल्पिक सरकार निर्माणका लागि तत्काल परिस्थिति बनिनसकेको बताएका छन् । 

देउवाले आफूहरूसँग पर्याप्त रुपमा संख्या नपुगेकोले वैकल्पिक सरकारको विषय थाती रहेको उल्लेख गरे । 

आज आफ्नै निवास बुढानिलकण्ठमा पत्रकारहरूसँग कुरा गर्दै देउवाले भने, सरकार बनाउन त बहुमत चाहियो होला नि। 

जसपाले निर्णय गर्दैन। हामीसँग बहुमत छैन के गर्ने ? हामीले मात्र गरेर हुँदैन, उनले भने।

यस्तो छ अंकगणित

अहिले कायम रहेका सांसद संख्या २ सय ७० मध्ये सरकारको पक्ष/विपक्षमा कम्तीमा १ सय ३५ सांसद आवश्यक पर्छ।

प्रधानमन्त्री केपी ओलीले कांग्रेस वा जनता समाजवादी पार्टीको समर्थनमा सरकार बचाउन सक्छन्। 

एमालेसँग रहेको १ सय २१ लाई जसपासँग रहेको ३४ ले समर्थन गरे १५५ र कांग्रेससँग रहेको ६३ ले समर्थन गरेमा १ सय ८४ सांसद पुग्छ। 

त्यस्तै, विकल्पमा कांग्रेस, माओवादी केन्द्र र जसपाको गठबन्धन बने सरकार बनाउन सक्ने अंकगणित छ । यी तीन मिल्दा १ सय ५० पुग्छ । प्रतिनिधिसभामा माओवादी केन्द्रका ५३ सांसद छन् । 

त्यस्तै, नेमकिपा, राप्रपा, राजमो र स्वतन्त्र एक–एकसहित प्रतिनिधिसभामा दुई सय ७५ सिट छन् । ती मध्ये चार सांसद निलम्बित रहेका छन्।

पछिल्लो अंकगणितको सम्भावना

पछिल्लो अंकगणितको सम्भावना केहि रोचक छ। अहिलेको निर्णायक शक्ति जसपाभित्र देखिएको दुई धुर्वका कारण अहिलेको समीकरण रोचक बनेको हो। 

३४ सिट रहेको जसपा अहिले लगभग आधा–आधाको संख्यामा विभाजित छ। जसपा अध्यक्ष महन्थ ठाकुर र राजेन्द्र महतो ओली कित्तामा उभिएका छन् भने, नेता बाबुराम भट्टराई र उपेन्द्र यादव नयाँ सरकारको पक्षमा छन्। 

नयाँ समीकरण बनेर अहिलेको सरकार जसपा अध्यक्ष महन्थ ठाकुर र राजेन्द्र महतोले ओली इतर सहयोग नगरे ढल्न गाह्रो छ। 

हुन त जसपाको दुबैले आफ्नो आधिकारीक संख्या त खुलाएका छैनन् तर अहिले आधा आधा भनेर भनिएको तथ्यांकलाई केलाउने हो भने माओवादी केन्द्र ५३, नेपाली कांग्रेस ६३ र जसपा बाबुराम भट्टराई र उपेन्द्र यादब १६ जोड्दा मात्र १३२ पुग्छ जुन संख्या अविश्वास प्रस्तावका लागि अपुग हुन्छ। 

यदि यहि संख्यामा अविश्वासको प्रस्ताव आए र संख्या नपुगे अविश्वासको प्रस्ताव फेल हुन्छ र १ वर्षसम्म प्रधानमन्त्री विरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराउन पाईंदैन, अर्काे वर्ष केन्द्रको पनि चुनाव गर्नुपर्ने भएकाले त्यो वर्ष पनि अविश्वासको प्रस्ताव दर्ता गराउन पाईंदैन । त्यही डरका कारण नेपाली कांग्रेस संख्या नपुगी अविश्वासको प्रस्ताव दर्ता गर्न चाहिरहेको छैन।

अर्कोतर्फ प्रधानमन्त्री केपी शर्मा ओली अहिले पनि बहुमतकै प्रधानमन्त्री रहेका छन्। माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता नलिएसम्म आफू बहुमतकै प्रधानमन्त्री रहेको ओलीले पटक पटक बताईरहेका छन्। 

अर्कोतर्फ माओवादी केन्द्रले समर्थन फिर्ता नलिई नै ओलीले नैतिकरुपमा राजीनामा दिनुपर्ने माग राखेको छ।

यी सबैका बीच कथमकदाचित ओलीविरुद्ध अविश्वासको प्रस्ताव आए माओवादीले ओलीलाई सहयोग नगर्ने निश्चित छ। अर्को तर्फ ओली आफ्नो पार्टीसँग रहेको १२१ र जसपा महन्थ ठाकुर र राजेन्द्र महतोसँग रहेका १६ सहित १३५ कटाउने दाउमा छ। पछिल्लो राजनीतिक घटनाक्रम हेर्दा यहि सम्भावना प्रवल देखिएको छ।

यता ओली नेतृत्वको सरकारले महन्थ ठाकुर र राजेन्द्र महतोलाई फकाउन १२० जना जसपा नेता कार्यकर्तासँग जोडिएका मुद्दासमेत फिर्ता लिने निर्णय गरेको छ। 

यहाँ सम्भावना अर्को पनि छ, कतै एमाले माधव नेपाल पक्षले फ्लोर क्रस गरेर ओलीलाई सत्ताच्युत गर्ने त होइन भन्ने पनि छ। जुन नजिर कर्णाली प्रदेशमा बसिसकेको छ। तथापि अहिलेको परिपेक्षमा माधव नेपालले त्यो जोखिम उठाउँछन् भन्नेमा ओली पक्ष विश्वास्त छैन।
 

Skip This
Skip This
Logo