वीरगञ्ज ।
छिमेकी मुलुक भारत सरकारको अनुदान सहयोगमा प्राप्त भएको कोभिड–१९ विरुद्धको खोप अभियान बुधबार वीरगञ्जमा विधिवत् रुपमा शुरु भएको छ । नारायणी अस्पताल वीरगञ्जका स्वास्थ्यकर्मी हेमा थापालाई सो खोप दिएर उक्त अभियानको शुभारम्भ गरिएको छ ।
सङ्घीय सरकारले उक्त खोप अभियान अन्तर्गत नारायणी अस्पताललाई पाँच हजार कोभिड–१९ विरुद्धको खोप दिएको छ । सो खोपले पाँच हजार २०० व्यक्तिलाई खोप पुग्ने लक्ष्य लिएको नारायणी अस्पतालका मेडिकल सुपरिडेण्टेड (मेसु) डा सञ्जय ठाकुरले बताए ।
यस अभियानअन्तर्गत पहिलो चरणमा स्वास्थ्यकर्मी, सफाइकर्मी, अस्पतालका कर्मचारी, स्वास्थ्य स्वयमसेविका, दोस्रोचरणमा सुरक्षाकर्मी र तेस्रो चरणमालगायत सर्वसाधारणलाई सो खोप दिने बताइएको छ । खोप लिनलाई सबैले आइएमयुमा नाम दर्ता गराउनुपर्ने प्रावधान रहेको छ । अठार वर्ष भन्दामाथि उमेरका व्यक्तिलाई सो खोप दिइन्छ । गर्भवती महिला, भर्खर जन्मेका बच्चालाई दूध चुसाउने महिला तथा दीर्घरोगीलाई भने यो खोप लगाउन नहुने खोप अधिकृत अनिलकुमार सिंहको दावी छ ।
बुधबार नै प्रदेश २ मा रहेको आठ जिल्लाको नौ स्थानमा खोप अभियान शुरु भएको छ । शुरुमा प्रदेश २ को आठ वटै जिल्लामा कोभिड–१९ को प्रकोप भयावह रहेकोले मानिस प्रदेश २ मा आउन डराउने गर्दथ्यो । तर अब सो अवस्था नरहेकाले अहिले त्यो सङ्ख्या घटेर फाट्टफट्ट रुपमा मात्र देखापरेको प्रदेश २ स्वास्थ्य निर्देशनालयका निर्देशक विजयकुमार झाले बताए ।
कोरोनाबाट प्रदेश २ मा मृत्यु हुनेको सङ्ख्या एक प्रतिशत मात्र रहेको स्वास्थ्य निर्देशनालय जनकपुरले दाबी गरेका छन् । प्रदेश नं २ मा कोभिड–१९ विरुद्धको ३४ हजार ८०४ वटा डोज औषधि दिइएको बताइएको छ । कोभिड–१९ विरुद्धको खोप लगाएपछिको अवस्थाबारे जानकारी दिँदै स्वास्थ्यकर्मी हेमा थापाले यो खोप लगाउँदा शरीरमा कुनै प्रकारको नकारात्मक प्रभाव नपरेकाले सबैसँग खोप लगाउन आग्रह गरिन् ।
खोप अभियानको उद्घाटन गर्दै प्रदेश–२ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेश २ मा कोरोना सङ्क्रमणको अवस्था न्यून रहेको बेला सङ्घीय सरकारले प्रदेश २ का जनतालाई खोप दिएपछि भय र त्रास हटेर गएकोले सबैसँग खोप लगाउन आग्रह गरे । पर्साका प्रमुख जिल्ला अधिकारी तथा जिल्ला खोप समन्वय समितिका अध्यक्ष आशमान तामाङगको अध्यक्षतामा भएको सो कार्यक्रममा पर्सा क्षेत्र नं– १ का सांसद प्रदीप यादव, प्रदेश २ स्वास्थ्य निर्देशनालयका निर्देशक विजयकुमार झा, वीरगञ्जस्थित भारतीय महावाणिज्यदूत नितेशकुमार, नेपाल पत्रकार महासङ्घ प्रदेश २ का सभापति दीपेन्द्र चौहान, नारायणी अस्पतालका मेसु डा सञ्जय ठाकुरलगायतका वक्ताले भारतमा १० लाख भन्दा बढी मानिस यो खोप लगाएको र यसको नकारात्मक प्रभाव नदेखिएकोले सबै निर्धक्क भई यो खोप लगाउन सबैलाई आग्रह गरेका थिए । रासस































प्रतिक्रिया