के धरापमा परेकै हो त प्रदेश–२ का मुख्यमन्त्री राउतको पद ?

के धरापमा परेकै हो त प्रदेश–२ का मुख्यमन्त्री राउतको पद ?

केन्द्रबिन्दु
0
Shares

जनकपुरधाम ।

प्रदेश नं. २ सरकारले काम नगरेको भनेर चारैतिर आलोचना भइरहेको बेला जनता समाजवादी पार्टीका नेताहरु सरकार परिवर्तनको माग खुलेर गर्न थालेका छन । यसरी खुलेर माग गर्न थालेपछि मुख्यमन्त्री लालबाबु राउतको कुर्सी खतरामा परेको विश्लेषण गरिएको छ ।

जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादवको विशेष उपस्थितिमा तत्कालीन राजपा र समाजवादी पार्टीबीच एकतापछि भएको पहिलो संयुक्त संसदीय दलको बैठकमा सांसदले राउत नेतृत्वको सरकारको चर्को आलोचना गरेका छन् । हिजो बिहीबार मुख्यमन्त्री निवासमा बसेको दलको बैठकमा मुख्यमन्त्री राउतसँगै सामाजिक विकासमन्त्री नवलकिशोर साह र उद्योग, वन, पर्यटन तथा वातावरणमन्त्री रामनरेश रायले छोरालाई नै राखेर मन्त्रालय चलाएको भन्दै चर्को आलोचना भएको एक सांसदले बताए ।

बैठकमा मुख्यमन्त्री लालबाबु राउत नेतृत्वको सरकारले जनताप्रति उत्तरदायी काम गर्न नसकेको र स्वेच्छाचारी ढंगले केहि व्यक्तिको ईशारामा पदीय मर्यादासमेत ख्यालै नगरी पदको दुरुपयोग गरेको सम्मका आरोप लगाएको छ ।

बैठकमा सहभागी अर्का प्रदेशसभा सदस्यका अनुसार बैठकमा बोलेका २४ जना सांसदमध्ये १९ जनाले प्रदेश सरकारको आलोचना गरेका थिए । उनका अनुसार सांसदहरू उपेन्द्र महतो, रीना यादव, मनिष सुमन, रमेश पटेल, गौरी नारायण साह, अशोक यादव, जानकी शरण साह, राम किशोर यादव, पारसप्रसाद साह, जयनुल राइन, प्रहलाद गिरी, बबिता यादव, सुरिता साह, रानी शर्मा तिवारी, नेत्रविक्रम साह, शेख अब्दुल कलाम, संजय यादव र विन्देश्वरप्रसाद यादवले सरकारको खुलेरै आलोचना गरेका थिए ।

ती मध्ये केहीले तत्काल मुख्यमन्त्रीसहित मन्त्रीहरू हेरफेर गर्नुपर्ने बताएका थिए । यसैगरी सांसदहरू बच्चा यादव र रामअशिष यादवले तटस्थ धारणा राखेका थिए भने सिंहासन सिंह कलवार, जनत अन्सारी र परमेश्वर साहले सरकारको खुलेरै प्रशंसा गरेका थिए । परमेश्वर यो सरकारबाट सबैभन्दा बढी लाभ लिने सांसदको रुपमा चिनिने गरिन्छ ।

बैठकमा बोल्दै मुख्यमन्त्री राउतले प्रदेशमा काम गर्न खेपेका चुनौती र गरेका कामको व्याख्या गर्दै मन्त्री र कर्मचारीले आफूलाई नटेरेको गुनासो पोखेका थिए । बैठकमा सहभागी सांसदका अनुसार नयाँ चुनिने संसदीय दलको नेतालाई आफूले समेत स्वीकार गर्ने उनले बताएका थिए ।राजधानीबाट

Logo