काठमाडौं ।
नवनियुक्त सहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठले परिणाम देखिने गरी काम गर्ने प्रतिवद्धता जनाएका छन् ।
मन्त्रालयको पदभार ग्रहणपछि पत्रकारहरुसँग कुरा गर्दै मन्त्री श्रेष्ठले ठोस परिणाम देखिने गरी आफूले काम गर्ने प्रतिवद्धता जनाएका हुन् । मन्त्रालयमा लामो समयदेखि जिम्मेवारीमा रहेका राज्यमन्त्री रामवीर मानन्धरसँग मिलेर परिणाम देखिने गरी कार्यसम्पादन गर्ने उनले बताए । जस्तोसुकै चुनौती आए पनि दुबै जनाको संयुक्त प्रयासले चिर्ने प्रयास गर्ने श्रेष्ठको भनाई छ ।
प्रतिकुलतासँग झस्केर बर्वाद भयो भनेर कहिले पनि निराश नबन्ने उल्लेख गर्दै उनले प्रतिकुलताभित्र अनुकुलता सिर्जना गरिने कामको परिणाममा आफूले विश्वास गर्ने बताए । उनले कुरा भन्दा पनि काम र परिणामलाई विश्वास दिने पनि बताए।
यस्तै नवनियुक्त अर्थमन्त्री विष्णु पौडेलले अर्थमन्त्रालय पुगेर पदभार ग्रहण गरेका छन् । बिहीबार शितल निवासमा आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनियताको सपथ ग्रहण गरे लगत्तै मन्त्रालय पुगेर पदभार सम्हालेका हुन् । मन्त्री पौडेललाई प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा बुधबार राष्ट्रपति भण्डारीले अर्थमन्त्री नियुक्त गरेकी थिइन् । पदभार ग्रहण अघि मन्त्री पौडेललाई मन्त्रालयका कर्मचारीहरुले स्वागत गरेका छन् ।
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव समेत रहेका पौडेल अर्थमन्त्रीमा दोस्रोपटक नियुक्त भएका हुन् । यसअघि भूकम्प, मधेस आन्दोलन र भारतको नाकाबन्दीका कारण धरासायी भएको बेला (२०७२ कात्तिक १९ गते) मा अर्थतन्त्रको बागडोर सम्हालेका थिए । अहिले पनि कोरोना भाइरसका कारण अर्थतन्त्रमा गम्भिर असर परेको अवस्थामा पुनः अर्थमन्त्रीको बागडोर सम्हाल्ने जिम्मेवारीमा पौडेल आइपुगेका छन् ।
यस्तै नवनियुक्त सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले सबै मन्त्रालयहरुको सूचनालाई एकद्वार प्रणालीबाट संप्रेषण गर्ने व्यवस्था मिलाउने बताएका छन् । बिहीबार मन्त्रालयमा पदभार ग्रहण गर्दै मन्त्री गुरुङले कुनै पनि मन्त्रालयको सूचना लुकाएर बस्ने स्थितिको अन्त्य गर्दै एकद्वार प्रणालीमार्फत सूचना दिने व्यवस्था मिलाउने बताएका हुन् ।
कुनै पनि मन्त्रालयमा गलत कुराहरु छन् भने पनि त्यसको अनुसन्धान गरेर बाहिर ल्याउनका लागि मन्त्रालयले आफ्नो काम गर्ने समेत उनले बताए । यस्तै मन्त्री गुरुङले आफूलाई सञ्चार क्षेत्र बुझेको छैन भनेर गलत सुझाव दिनेमाथि कारबाही गरिने पनि बताए।
कसैले पनि बाङ्गो टिङ्गो बाटोबाट सुझाव दिए आफूले छिटो बुझ्ने प्रयत्न गर्ने र त्यस्ता व्यक्तिसँग सम्बन्ध कायम नगर्ने प्रतिवद्धता समेत मन्त्री गुरुङले व्यक्त गरे । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार साँझ मन्त्रीमण्डल पुनरगठन गरेपछि महिला तथा सामाजिक मन्त्री रहेका मन्त्री गुरुङले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिमेवारी पाएका हुन् ।































प्रतिक्रिया