नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विश्वासको मत नपाउने थाहा हुँदाहुँदै पनि प्रधानमन्त्रीले विश्वासको मत मागेको बताएका छन्।
प्रतिनिधिसभामा विश्वासको मतसम्बन्धी प्रस्तावमाथिको छलफलमा भाग लिदैं प्रमुख प्रतिपक्षी दलका नेतासमेत रहेका देउवाले ओली नेतृत्वको सरकार भ्रष्टाचारमा चुर्लुम्म डुबेको बताए। उनले सरकार जनताको अभिभावक बन्न नसकेको आरोप लगाए ।
देउवाले वर्तमान सरकारलाई जनताले पाँच वर्षसम्म म्यान्डेट दिएको भएपनि तीन वर्षमै विश्वासको मत माग्नु पर्ने अवस्था आउनुमा दोषी को हो भन्दै प्रश्न गरेका छन् ।
प्रतिनिधिसभाको आजको विशेष बैठकमा बोल्दै देउवाले यस्तो बताएका हुन् । उनले सरकार कोरोना नियन्त्रण गर्न असफल भएको पनि बताए । उनले सरकारले जनताको स्वास्थ्यमा सरकारले खेलबाड गरेको र औषधि खरिदमा गरेको भ्रष्टाचारमा पनि टुलुटुलु हेरेर बसेको आरोप लगाए ।
उनले प्रधानमन्त्रीले निर्माण नै नसकिएको धरहरा उद्घाटन गरेको भन्दै असन्तुष्टि व्यक्त गरे ।
यता प्रतिनिधिसमाको दोस्रो बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारका पक्षमा विश्वासको मत मागेका छन् ।
प्रतिनिधिसभाको बैठकलाई झन्डै ४५ मिनेट सम्बोधन गर्दै ओलीले वर्तमान सरकारलाई अविश्वास गनुपर्ने कुनै कारण नभएको बताए।
‘आवद्धता र संलग्नतालाई हेरेर होइन, सत्यलाई पच्छाएर निर्णय गनुपर्ने अवस्था छ,’ ओलीले भने,‘यदि हामीले सच्चाइलाई पछ्याउँछौं भने वर्तमान सरकार कुनै पनि हिसाबले विश्वास नगर्नुपर्ने सरकार होइन र छैन ।’
‘राष्ट्रियताको संरक्षण, भौगोलिक अखण्डताको रक्षा र पहरेदारी गर्ने सन्दर्भमा र राष्ट्रिय स्वाभिमानलाई माथि उठाउने कुरामा कुनै प्रयास बाँकी नराखेको बारे तथ्य आफैं बोल्छन्,’ ओलीले भने, ‘हामीले लिएका अडान आफैं बोल्छन् । हामीले प्राप्त गरेका उपलब्धी आफैं बोल्छन् ।’
ओलीले राष्ट्रियताको प्रवद्र्धधनमा सरकारले राम्रो काम गरेको दावी गरे। सरकारले सुशासनका पक्षमा समेत राम्रो काम गरेको ओलीको दावी छ।





























प्रतिक्रिया