नेपाल उद्योग वाणिज्य महासंघद्वारा आजदेखि ४० वेडको आइसोलेसन सेन्टर संचालनमा

नेपाल उद्योग वाणिज्य महासंघद्वारा आजदेखि ४० वेडको आइसोलेसन सेन्टर संचालनमा

केन्द्रबिन्दु
0
Shares

नेपाल उद्योग वाणिज्य महासंघले आजदेखि काठमाडौंमा ड्राई (अक्सिजन र आपतकालिन उपचार विनाको) आइसोलेसन सेन्टर संचालनमा ल्याएको छ।

महासंघले भगवान महावीर जैन–निकेतन ज्ञानेश्वर र आरम्भ फाउण्डेशनको सहयोग तथा सहकार्यमा कोभिड संक्रमितहरूका लागि कमलादीस्थित जैन ज्ञान निकेतनमा आइसोलेसन सेन्टर सञ्चालनमा ल्याएको महासंघका कार्यकारिणी सदस्य रन्जित आचार्यले जानकारी दिए।

महासंघले बढ्दो कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण गरी आम सर्वसाधारणको जीवन रक्षार्थ सहयोग गर्ने उद्देश्यले कोभिड–१९ सहायता केन्द्र (एफएनसीसीआई कोभिड–१९ हेल्प डेस्क) स्थापनाको लागि महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालको नेतृत्वमा समन्वय समिति बनाएको थियो ।

त्यही हेल्प डेस्क अन्तगर्त आजदेखि आइसोलेसन सेन्टर सञ्चालन गर्न लागिएको आचार्यको भनाइ छ। अहिले सुरुमा ४० बेड बनेको छ । त्यसमा आवश्यकताका आधारमा थप बेडहरूको व्यवस्थापन गर्दै जाने योजना रहेको बताइएको छ । कोरोना संक्रमणका कारण आइसोलेसनमा बस्न समस्या परेका निम्न आय भएकाहरूलाई लक्षित गरि उक्त सेन्टर संचालनमा ल्याउन लागिएको आचार्यले बताए ।  

उनका अनुसार आइसोलेसन सेन्टरमा निम्न आय भएका, कुनै लक्षण नदेखिएका संक्रमितहरू कामका लागि बाहिर जाने र त्यसबाट संक्रमणसमेत फैलन सक्ने उच्च खतरा रहेकाले त्यस्ता संक्रमितहरूलाई उचित वातावरणमा एकै ठाउँ राखी संक्रमण नियन्त्रणमा सहयोग पुर्याउने उद्देश्य महासंघको छ ।

महासंघलाई आइसोलेसनका स्थापनाका लागि स्थान भगवान महावीर जैन–निकेतनले उपलव्ध गराएको छ भने आरम्भ फाउण्डेशनले आइसोलेसनको दैनिक व्यवस्थापन र संचालन गर्ने जिम्मेवारीसहित दुई जना स्वास्थ्यकर्मी र एक जना चिकित्सकको व्यवस्था गरी आइशोलेसनमा रहेका संक्रमितहरूको २४ सै घण्टा स्वास्थ्य परीक्षण, स्वास्थ्य परामर्शसहित औषधि उपचारको प्रवन्ध गरिएको छ । स्थानीय तहमा संक्रमितहरूसँग समन्वय गर्ने कार्यमा काठमाडौं महानगरपालिका वडा नम्वर २९ ले सहयोग गर्ने भएको छ ।

त्यस्तै, आइसोलेसनमा रहने संक्रमितहरूका लागि बिहान बेलुकाको खाना र दिउसोको खाजाको प्रवन्ध गरिनेछ । केन्द्रमा अक्सिजन बाहेक कोरोना संक्रमितहरूका लागि दिइने खाने औषधिहरु उपलव्ध गराइने छ।

आइसोलेसनमा रहँदा कुनै संक्रमितहरूमा स्वास्थ्य जटिलता आई अस्पताल जानुपर्ने अवस्था आइपरेमा बिरामीलाई अस्पतालसम्म जाने कार्यको समन्वय नेपाल उद्योग वाणिज्य महासंघले गर्ने महासंघले गर्ने जनाएको छ । व्यवहारिक र सुरक्षा संवेदनशीलतालाई दृष्टिगत गर्दै प्रारम्भमा कोभिड संक्रमित एकल महिलाहरूलाई सेन्टरमा सेवा दिन असमर्थ हुने महासंघले जनाएको छ ।

महासंघका अध्यक्ष शेखर गोल्छाले कतिपय संक्रमितहरू संक्रमणका बखत उचित खानपिन र क्वारेन्टाइनको अभावमा ठूलो समस्यामा पर्ने भएकाले दैनिक कमाएर गुजारा गर्नुपर्ने न्युन आय भएका वर्गहरूलाई लक्षित गरि उनीहरूलाई सहयोग गर्न महासंघले आइसोलेसन सेन्टर संचालनमा ल्याएको बताएका छन्। 

त्यस्तै कार्यकारिणी सदस्य आचार्यले विभिन्न संघ संस्थाको सहयोगमा अझै विभिन्न स्थानमा आइसोलेसन सेन्टर थप्दै जानेसमेत बताएका छन्।

Skip This
Skip This
Logo