व्यापारीद्वारा खाद्यान्नको मनपरी मूल्यवृद्धि, विभाग भन्छ मात्र, कारबाही गर्दैन

व्यापारीद्वारा खाद्यान्नको मनपरी मूल्यवृद्धि, विभाग भन्छ मात्र, कारबाही गर्दैन

केन्द्रबिन्दु
0
Shares

कोरोना महामारीको दोस्रो लहर नियन्त्रण गर्न सरकारले जारी गरेको निषेधाज्ञाको मौका छोपी व्यापारीले दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धि गरेका छन्। दैनिक उपभोग्य वस्तुको कृत्रिम अभाव देखाएर उनीहरुले मनपरी मूल्य बढाएका हुन्।

उपत्यकाका विभिन्न स्थानका खुद्रा पसलमा खाद्यान्नलगायत वस्तु अभाव भएकाले  सामानको मूल्य वृद्धि भएर आएको व्यवसायीले बताउँदै आएका छन्।

निषेधाज्ञा कारण सामानको उत्पादन कम भएर बजारको मागलाई धान्न नसक्ने अवस्था भएपछि मूल्यवृद्धि भएको उनीहरुको भनाइ छ। होलसेलबाटै मूल्य बढेर आएको भन्दै खुद्रापसलेले आफूखुसी मूल्यमा सामान बेच्दै आएको पाइएको छ। 

निषेधाज्ञाका कारण दुई सातासम्म घरभित्रै बसेका उपभोक्ता खाद्यान्नलगायत खानेतेल, गेडागुडी, चिनीको मूल्य बढेसँगै महँगीको मारमा परेका छन्। यति बेला बाहिर गएर सामान किन्ने विकल्प नभएकाले  उपभोक्ता व्यवसायीले भनेकै मूल्यमा दैनिक उपभोग्य वस्तु किन्न बाध्य भएका छन्।

निषेधाज्ञापछि खानेतेल चिनी, चामल, चिया, दाल, गेडागुडीबाहेक कुनै पनि वस्तुको मूल्यवृद्धि नभएको नेपाल खुद्रा व्यापार संघका अध्यक्ष राजकुमार श्रेष्ठले बताए। उनका अनुसार बजारमा होलसेल पसल तथा केही व्यवसायीले आफूखुसी मूल्यवृद्धि गरेर खुद्रा पसललाई सामान बेचिरहेका छन्।

अहिले बजारमा  तोरी र सनफ्लावर तेल प्रतिलिटर २ सय ५० बाट मूल्यवृद्धि भएर २ सय ६० पुगेको छ। भटमासको तेल प्रतिलिटर २ सय ३० बाट मूल्यवृद्धि भई २ सय ५० पुगेको छ।

‘केही ठूला व्यापारी र होलसेलले आफूखुसी मूल्य तोकेर खुद्रा व्यापारीलाई सामान बिक्री गरिरहेको थाहा पाएपछि यो संकटका बेला आफूखुसी मूल्य वृद्धि नगर्न भनेका छौं। तर, व्यवसायीले निषेधाज्ञाका कारण बजारमा सामान अभाव भएको भन्दै खुद्रा पसलेले मूल्य बढाएको जानकारी आएको छ,’ उनले भने

खुद्रा व्यापार संघका अनुसार खानेतेल, चिनी, चामल, चिया, दाल र गेडागुडीमा १० देखि २५ रुपैयाँसम्म मूल्य वृद्धि भएको छ। ६ महिनादेखि लगातार  तोरी, सनफ्लावर र भटमास तेलमा मूल्यवृद्धि भइरहेको छ। निषेधाज्ञा सुरु भएपछि खानेतेलमा प्रति लिटर २० रुपैयाँसम्म मूल्यवृद्धि भएको छ।

एक वर्ष अवधिमा खानेतेलको मूल्य प्रतिलिटर १ सय २० रुपैयाँले बढेको छ। एक वर्षअघि १ सय ३० देखि १ सय ५० रुपैयाँसम्ममा पाइने तेल अहिले २ सय ६० रुपैयाँसम्म पुगेको छ। 

अहिले बजारमा  तोरी र सनफ्लावर तेल प्रतिलिटर २ सय ५० बाट मूल्यवृद्धि भएर २ सय ६० पुगेको छ। भटमासको तेल प्रतिलिटर २ सय ३० बाट मूल्यवृद्धि भई २ सय ५० पुगेको छ।

वाणिज्य विभागले खानेतेलको मूल्यवृद्धि गरेको भन्दै दुई महिनाअघि दुईवटा कम्पनीलाई कारबाही .समेत गरेको थियो। त्यसको केही समयसम्म मूल्य स्थिर रहेको भए पनि अहिले निरन्तर बढिरहेको छ। अन्तर्राष्ट्रिय बजारमा तेल उत्पादन गर्ने कच्चा पदार्थको मूल्यवृद्धि भएकाले तेल उत्पादन लागत बढेकोे उद्योगीले बताउँदै आएका छन्। 

त्यस्तै, निषेधाज्ञा सुरु भएपछि चिनीको मूल्य पनि बढेको छ। निषेधाज्ञाअघि खुद्रा पसलमा  प्रतिकिलो ८० देखि ८५ रुपैयाँ रहेको चिनी अहिले ९० देखि १ सय रुपैयाँसम्म पुगेको छ। त्यस्तै चामलको मूल्य प्रति बोरा ५० देखि १ सय रुपैयाँसम्म बढेको छ। 

निषेधाज्ञा भएकाले धेरै मानिस उपत्यका छाडेर गाउँ गएका तथा होटल बन्द भएकाले तरकारी र मासुको दैनिकी खपत ५० प्रतिशतले घटेको  व्यवसायीले जनाएका छन्। 

बजार अनुगमन गर्ने नियामक निकाय वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले मूल्यवृृद्धि नियन्त्रण गर्न स्रोतसाधनले भ्याएसम्म अनुगमन गरिरहेको जनाएको छ। विभागका प्रवक्ता शिवराज सेढाइका अनुसार विभागले अहिले खाद्यान्न र स्वास्थ्य सामग्रीको समेतको नियमित बजार अनुगमन गरिरहेको छ।

उनले भने,‘अन्तर्राष्ट्रिय बजारमै खानेतेल उत्पादन गर्ने कच्चा पदार्थको मूल्यवृद्धि भएकोले त्यसको प्रभाव  नेपाल पनि परेकाले खानेतेलको मूल्य बढेको हो। महामारीका उपभोक्ता गुनासो सुनुवाइ गर्दै  निरन्तर अनुगमन गरिरहेका छौं।’ 

उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमल्सिना  महामारीको अवस्थामा खानेतेल, चिनीलगायत खाद्यान्नको अस्वाभाविक मूल्यवृद्धि भएको बताउँछन्। महामारीका बेलामा विभिन्न स्वास्थ्य सामग्रीमा कालोबजारी भइरहेको उनको भनाइ छ। 

यस्तो संकटको बेलामा समेत कालोबजारी तथा कृत्रिम अभाव देखाएर  मूल्य वृद्धि गरिँदा सरकार मौन बस्नु नालायकीपना भएको उनको धारणा छ। ‘सरकारले आफ्नो स्वामित्वका साल्ट ट्रेडिङ, खाद्य विभागजस्ता संस्थामार्फत् बजार हस्तक्षेप गरेर अघि बढ्नैपर्छ,’ उनको सुझाव छ।

Logo