संघीय संसद सचिवालयले दोश्रो चरणको खोप कार्यक्रम स्थगित गरेको छ। संसदसँग मात्रै सरोकार राख्नेहरु भन्दा बाहिरका पनि खोप कार्यक्रममा सहभागी भएपछि खोप अभाव भएको भन्दै सचिवालयले कार्यक्रम नै स्थगित गरेको हो। संसद सचिवालयले माग गरेको भन्दा झण्डै दोब्बरको संख्यामा खोप लगाउनेहरु भएपछि खोप अभाव भएको हो।
संसदसँग सरोकार राख्ने भन्दा बाहिरकाले खोप लगाएपछि संसद सचिवालयकै कर्मचारी, मर्यादापालक, संसदीय पत्रकार, सुरक्षाकर्मीहरु दोश्रो खोप लगाउनबाट बञ्चित भएका छन्। संसद सचिवालयले सिभिल अस्पतालमा कोभिडसिल्डको पहिलो खोप लगाएका सांसद, कर्मचारी, मर्यादापालक, संसदीय पत्रकार लगायतका लागि दोश्रो डोजको कार्यक्रम राखेको थियो। सोही कार्यक्रम अनुसार संसद सचिवालयसँग सम्बन्धीतहरुले पहिलो डोज लगाएको संख्याको आधारमा स्वास्थ्य मन्त्रालयसँग खोप माग गरेको थियो।
सचिवालयले अघिल्लो डोज १४ सय ६५ खोप मागेर भीड नहुने गरी खोप लगाउनका लागि ३ दिनको कार्यतालिका सार्वजनिक गरेको थियो। कोभिडसिल खोपको दोश्रो डोजको सुनिश्चितता हुन नसक्दा सांसदका परिवार, आफन्त, नजिकका, कर्मचारीका परिवार, आफन्त लगायत पनि खोप कार्यक्रममा सहभागी भए। इन्टरनेट सेवा प्रदायक संस्था क्यासिक टेक, केयुकेएल लगायत संस्थाका कर्मचारीले पनि खोप लगाएका थिए। सचिवालयका प्रवक्ता डाक्टर रोजनाथ पाण्डेले दोश्रो डोजको सुनिश्चितता नहुँदा सांसदका परिवार, आफन्त, नजिकका मान्छे अनि संसद सचिवालय भन्दा बाहिरका सहभागी हुँदा समस्या भएको बताए।
संसद सचिवलायले १४ सय ६५ खोप माग गरेकोमा दुई दिनमा १७ सय २९ खोप लगाईएको छ। जेठ १ गते ९ सय ५० जनाले र बैशाख ३१ गते ७ सय ७९ जनाले खोप लगाएका छन्। अझै पनि संसद सचिवालयका मर्यादापालक, सुरक्षाकर्मी र पत्रकारहरु नै दोश्रो डोज लगाउन पाएका छैनन्। प्रवक्ता डाक्टर पाण्डेले बाँकी रहेकाहरुलाई छिट्टै नै खोप लगाउने व्यवस्था मिलाइने बताए।
संसद सचिवालयले नयाँवानेश्वर स्थित संघीय संसद भवनको लोत्से हलमा शुक्रबार, शनिबार र आइतबारका लागि खोपको दोश्रो डोज लगाउने व्यवस्था मिलाएको थियो। शुक्रबार प्रतिनिधिसभाका सभामुख, राष्ट्रियसभाका अध्यक्ष, उपाध्यक्ष लगायत दुवै सदनका सांसदहरु, पदाधिकारीहरुका निजी सजिवालयका सबै कर्मचारीका लागि, शनिबार पदाधिकारीहरुका निजी सचिवालयका कर्मचारी, सुरक्षाकर्मी र आइतबारका लागि संघीय संसद सचिवालयका सम्पूर्ण कर्मचारीहरु, अन्तराष्ट्रिय सम्मेलन केन्द्र नयाँवानेश्वरमा कार्यरत सम्पूर्ण कर्मचारीहरुलाई र स्वकीय सचिव लगायतका सबै कर्मचारीहरु, मर्यादापालक, सुरक्षासँग सम्बन्धीत सबै कर्मचारी, संसदीय मामिलाका सबै पत्रकारहरुलाई खोप लगाउने कार्यक्रम तय गरिएको थियो।





























प्रतिक्रिया