निषेधाज्ञापछि इन्टरनेट प्रयोगकर्ता ३० प्रतिशतले बढे, १२ प्रतिशत नयाँ ग्राहक थपिए

निषेधाज्ञापछि इन्टरनेट प्रयोगकर्ता ३० प्रतिशतले बढे, १२ प्रतिशत नयाँ ग्राहक थपिए

केन्द्रबिन्दु
0
Shares

कोभिड–१९ को दोस्रो लहर तीव्र रुपमा फैलिएसँगै नियन्त्रणका लागि सरकारले उपत्यकालगायत सबै जिल्लामा  निषेधाज्ञा लागू गरेको दुई साताभन्दा बढी भएको छ। 

निषेधाज्ञा जारी भएसँगै अत्यावश्यकबाहेक सबै कार्यालय बन्द भएका छन्। यसरी सबै क्षेत्र बन्द भएकाले मानिस घरमा बस्दा अन्य समयभन्दा इन्टरनेट धेरै खपत हुन थालेको छ।

निषेधाज्ञा नहुँदा दिउँसो मानिस विभिन्न काममा व्यस्त हुने भएकाले इन्टरनेट खपत कम हुन्थ्यो। तर, निषेधाज्ञापछि दिउँसो इन्टरनेट धेरै खपत हुन थालेको इन्टरनेट सेवाप्रदायक कम्पनीले बताएका छन्।

पछिल्लोपटक निषेधाज्ञा जारी भएको दुई हप्तामा  इन्टरनेट प्रयोगकर्ता २५ देखि ३० प्रतिशतले वृद्धि भएको इन्टरनेट सेवा प्रदायक संघ (आइस्पान) तथा सुबिसु केबलनेटका अध्यक्षसमेत रहेका सुधीर पराजुलीले केन्द्रबिन्दुलाई बताए।

उनका अनुसार निषेधाज्ञामा सबै मानिस दिउँसो घरमै बसेर नेट चलाउने भएकाले खपत बढेको भए पनि बेलुका चाहिँ कम रहेको छ। उनले भने, ‘निषेधाज्ञापछि ३० प्रतिशतले इन्टरनेट खपत बढेको छ। तर, धेरै इन्टरनेट खपत हुने समयमा कम्पनी तयारी अवस्थामा रहने गरेका छन्।’

यता नेपाल दूरसञ्चार प्राधिकरणले भने निषेधाज्ञा अवधिमा खपतसँगै इन्टरनेट सेवाका ग्राहकसमेत करिब १२ प्रतिशतले बढेको जनाएको छ। दूरसञ्चार प्राधिकरणले १२ प्रतिशतले ग्राहक बढेको जनाए पनि वास्तविक ग्राहक वृद्धिदर १० प्रतिशतमात्र रहेको अध्यक्ष पराजुलीको भनाइ छ।

निषेधाज्ञाको अवधिमा नयाँ ग्राहक थप्नेभन्दा पनि कम्पनी पुरानै ग्राहकलाई गुणस्तरीय सेवा दिन लागिपरेका  पराजुली बताउँछन्। ‘अहिले निषेधाज्ञामा स्पिड कम भएको छ। एउटा राउटर जोडेर पूरै घरका कोठा तथा अर्काे घरमा समेत इन्टरनेट दिने प्रचलन रहेकाले स्पिड कम भएको हो। तर, गुणस्तरमा कमी आएको छैन,’ उनी भन्छन्।

निषेधाज्ञापछि गुणस्तरीय सेवाभन्दा पनि इन्टरनेट कम्पनी नयाँ ग्राहक थप्न लागिपरेका उपभोक्ताको गुनासो छ।

 नेपालमा पछिल्लो समय  इन्टरनेट सेवाप्रदायकबीच प्रतिस्पर्धा चलिरहेको छ। प्रतिस्पर्धाबीच एक वर्षमा नेपालमा झन्डै ३८ प्रतिशत इन्टरनेट सेवाका ग्राहक थपिएका नेपाल दूरसञ्चार प्राधिकरणले जनाएको छ। 

प्राधिकरणका अनुसार २०७६ साल चैतमा देशभरि इन्टरनेट सेवाका ग्राहक ८ लाख ९६ हजार ७२१ रहेका थिए। तर,  २०७७ साल चैत मसान्तसम्ममा ४ लाखभन्दा बढी ग्राहक थपिएर १२ लाख ३४ हजार २४९ पुगेको छ।

यो संख्या मोबाइलको इन्टरनेटबाहेक ब्रोडब्यान्ड इन्टरनेट सेवाका ग्राहक संख्या हो। 
त्यस्तै,अहिलेसम्मका कूल इन्टरनेट ग्राहकमध्ये फाइबर ब्रोडब्यान्डका ग्राहक ९ लाख ८१ हजार ४ सय ८१, केबल इन्टरनेटका २ लाख २६ हजार १९ र वायरलेस इन्टरनेट सेवाका ग्राहक ४६ हजार ७४९ पुगेको प्राधिकरणले जनाएको छ।

अध्यक्ष पराजुलीका अनुसार यसरी पछिल्लो एक वर्षमा ग्राहकको संख्या बढ्दै गएसँगै इन्टरनेटको स्पिडमा समस्या देएिको छ भने मूल्यमा पनि   कमी आउन थालेको छ। उनले भने, ‘अहिले २५–३० एमबीपीएसको इन्टरनेट प्याकेजलाई मासिक १ हजार २ सय रुपैयाँ हाराहारी पर्छ, अझ प्याकेजमा सस्तो पर्छ। यसरी प्याकेज हिसाबले हेर्ने हो भने वार्षिक औसत मूल्यका आधारमा यो शुल्क अझ कम पर्ने भएकाले इन्टरनेट सेवाका उपभोक्तालाई   फाइदा छ।’

पछिल्लो समय देशका प्रायः सबै प्रमुख सहरी र अर्धसहरी क्षेत्रमा इन्टरनेट सेवा पुगिसकेको छ। साना सहरी क्षेत्रमा समेत ठूला सेवा प्रदायकले ब्यान्डविथ किनेर स्थानीय आइएसपी चलाउने क्रम बढेको छ। त्यस्तै, पछिल्लो समय दर्जनौ  नयाँ कम्पनीले फाइबर इन्टरनेट सेवा सुरु गरेकाले अस्वस्थ प्रतिस्पर्धा बढेको छ।

नेपालमा अहिले पनि वास्तविक ब्रोडब्यान्ड सेवा विस्तार नभएको आइस्पानका अध्यक्ष पराजुली बताउँछन् । अहिलेसम्म इन्टरनेट सेवा दिइरहेका इन्टरनेट सेवा प्रदायकमध्ये वल्र्डलिंक कम्युनिकेसन सबैभन्दा बढी ग्राहकलाई  इन्टरनेट सेवा दिएको छ।

नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार  वर्ल्डलिंकका चार लाख ग्राहक रहेका छन्।  वल्र्डलिंकले कूल इन्टरनेट बजारको ३३ प्रतिशत हिस्सा ओगटेको छ।

त्यस्तै, २ लाख ४६ हजार ग्राहकसहित नेपाल टेलिकमले पनि दोस्रो स्थानमा रहेर गुणस्तरीय इन्टरनेट सेवा दिइरहेको छ। नेपाल टेलिकमले २१ प्रतिशत हिस्सा ओगटेको छ। 

यसैगरी, कूल बजारको १२ प्रतिशत हिस्सा ओगटेको सुबिसु केबल नेट तेस्रो स्थानमा रहेको छ।  १० प्रतिशत हिस्सा ओगटेको भायनेट पाँचौं स्थानमा रहेको छ। त्यस्तै अहिले बजारमा क्लासिटेक, टेकमाइन्डस, ब्रोडलिंक, वेबसर्फर, कनेक्ट नेपाललगायत अन्य इन्टरनेट सेवाप्रदायक रहेका छन्। 

त्यस्तै, काठमाडौँ उपत्यकामा  साना आइएसपीहरु धेरै रहेका छन्। पछिल्लो समय डिस होमले पनि फाइबर इन्टरनेट सेवा दिँदै आएको छ।

Skip This
Skip This
Logo