राष्ट्रियसभा सदस्य उपनिर्वाचन अन्तर्गत आज मतदान सुरू भएको छ। बागमती प्रदेशमा रिक्त सदस्यमा आज मतदान भइरहेको हो।
चुनावमा नेकपा (एमाले)बाट गृहमन्त्री रामबहादुर थापा बादल तथा कांग्रेस र माओवादी केन्द्रको समर्थनमा खिमलाल देवकोटा तथा नेपाल मजदुर किसान पार्टीबाट कृष्णगोपाल तामाङ उम्मेदवार छन्।
मुख्य प्रतिस्पर्धी भने बादल र देवकोटा हुन्। यी दुवै नेकपा (एमाले)का भएकाले निर्वाचन परिणामलाई चासोका साथ हेरिएको छ। बादललाई सूर्य निर्वाचन चिह्न प्रदान गरिएको छ भने देवकोटा कलम चुनाव चिह्नबाट निर्वाचन भिड्दै छन्। संघीयताविज्ञ देवकोटालाई कांग्रेस, माओवादी, जसपा र एमालेको माधव नेपाल समूहको समर्थन छ।
उपनिर्वाचनमा प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख र उपप्रमुखले मतदान गर्नेछन्। वाग्मती प्रदेशसभा सदस्य ११० जना छन्। प्रदेशका १३ जिल्लाका ११९ स्थानीय तहका प्रमुख र उपप्रमुख गरी २३८ जना छन्। यसरी जम्मा मतदाता ३४८ रहेकाले गणना गर्न धेरै समय नलाग्ने निर्वाचन आयोगका अधिकारीहरू बताउँछन्।
निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले उपनिर्वाचनको परिणाम आजै आउन सक्ने बताएका छन्। ‘कुनै प्राविधिक समस्या आएन भने मत परिणाम आजै आउँछ,’ उनले भने।





























प्रतिक्रिया