नेपाली कांग्रेसले राष्ट्रपतिको कदम असंबैधानिक भन्दै यसलाई परास्त गर्न अगाडि बढ्ने निष्कर्ष निकालेको छ।
सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा शुक्रबार बिहान बसेको पदाधिकारी बैठकले पछिल्लो पटक पनि प्रधानमन्त्री र राष्ट्रपति मिलेर नेपालको संविधानमाथि घोर जालसाझी गर्ने काम भएको निष्कर्ष निकाल्दै त्यसविरुद्ध एकजुट भएर प्रतिकार गर्ने निर्णय गरेको हो।
बैठकले संविधान र लोकतन्त्र रक्षाका लागि अन्य दलहरुसँग छलफल गरेर अघि बढ्ने निर्णय गरेको छ। बैठकपछि संञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री र राष्ट्रपतिबाट संविधानमाथि जालसाझी गर्ने काम भएको निष्कर्षका साथ त्यसविरुद्ध एकजुट हुने निर्णय भएको बताए।
उनले भने, “प्रधानमन्त्री र राष्ट्रपति मिलेर नेपालको संविधानमाथि घोर जालसाझी गर्ने काम भएको छ। नेपाली कांग्रेसले यसको विरोध गर्छ। प्रधानमन्त्रीले राजीनामा गरेका छैनन्, प्रधानमन्त्री अपदस्त भएका छैनन् । प्रधानमन्त्री हुँदा हुँदै अर्को प्रधानमन्त्रीको लागि थोरै समय दिएर अर्को प्रधानमन्त्रीको लागि आव्हान गरेको थियो भन्ने पार्नलाई संविधानमाथि जुन जालसाझी भइरहेको छ, नेपाली कांग्रेस यसको विरुद्धमा एकमत भएर उभिन्छ। संविधान बचाउनका लागि सबै पार्टीसँग कुरा भइरहेको छ । कुरा गरेर ठोस कदम चाल्छौं।”
त्यसैगरी सहमहामन्त्री प्रकाशशरण महतले पटक पटक संविधानको मर्म र भावनालाई कुल्चिने काम सरकारबाट भएको र पछिल्लो घटनाक्रम पनि त्यसकै निरन्तरता भएको भन्दै त्यसविरुद्ध लड्नका लागि दलहरुसँग सबै विकल्पबारे छलफल गर्ने निर्णय बैठकमा भएको बताए।
यसैबीच, कांग्रेसले आव्हान गरेको सर्वदलीय बैठक अहिले केही बेरपछि देउवा निवासमा बस्दैछ।
बिहीबार राष्ट्रपति भण्डारीले संविधानको धारा ७६ (५) अनुसार सरकार निर्माण गर्न आज साँझ ५ बजेसम्मको समय दिएकी थिइन्।
यस लगत्तै राजनीतिक दलहरु आआफ्नै रणनिती तयका लागि जुटेका छन् ।































प्रतिक्रिया